काठमाण्डौ । सेयर बजारमा निरन्तर पहिरो जाँदा लगानीकर्ताले ८ खर्ब ६० अर्ब सम्पत्ति गुमाएका दाबी गर्दै नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले बजारलाई सम्बोधन गरिदिन अर्थमन्त्रीलाई आग्रह गरेका छन् । 

अर्थमन्त्रीको रुपमा डा. युवराज खतिवडाको नियुक्तिसँगै निरन्तर घटिरहेको बजार सुधारका लागि सरकारबाट कुनै प्रयास नभएपछि र बजार घट्न बन्द नभएपछि आत्तिएका लगानीकर्ताहरुका सबै माग सम्बोधन हुनुपर्ने भन्दै फोरमका अध्यक्ष पौडेलले अर्थशास्त्रीहरुलाई समेत बोलिदिन आग्रह गरेका छन् । 

इन्भेष्टर्स फोरमले सोमबार एक पत्रकार सम्मेलन गरी १९ बुँदे माग राख्दै ७ दिनभित्र पूरा नभए आन्दोलन थाल्ने घोषणा गरिसकेको छ । पत्रकार सम्मेलनमार्फत आफ्ना धारणा सार्वजनिक गरेको फोरमका अध्यक्षले मंगलबार फेसबुकमा एक स्ट्याटस पोस्ट गर्दै यस्तो आग्रह गरेका हुन् । 

पौडेलको स्ट्याटस यस्तो छ:

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११३ ले भन्छ–‘पूँजीबजारको विकास र लगानीकर्ताहरुको हितलाई संरक्षण गर्ने जस्ता नीतिगत बिषयमा नेपाल सरकारले समय–समयमा बोर्डलाई आवश्यक निर्देशन दिन सक्नेछ र त्यस्तो निर्देशनको पालना गर्नु बोर्डको कर्तव्य हुनेछ ।’

१.नेप्से इण्डेक्स १८८१ बाट निरन्तर घटेर ११३५ अंकसम्म आउँदा ७४६ अंकको (३९.६९५) गिरावट भई लगानीकर्ताको करिब आठ खर्ब ६० अर्ब रकम गुमेको अवस्थामा लगानीकर्ताको मात्र दोष होला कि सूचिकृत कम्पनीको, बजार संचालक, नियामकको वा सरकारको कमी कमजोरीले पनि यस्तो भएको हो ? सबैले म म गरौं ।
२.लगानीकर्तालाई कही कतै दोष दिन मिल्दैन । लगानी गरेर प्रतिफलको आशा गर्नु लगानीकर्ताको धर्म हो । लगानीकर्ताहरुको हितलाई संरक्षण गर्नु नियामकको कर्म हो । बजारलाई नियन्त्रण गर्न हुँदैन, तर अपरिपक्व बजार चौपट भइरहँदा टुलुटुलु हेरिरहन पनि मिल्दैन होला । नीतिगत सम्बोधन जरुरी छ, त्यसैले बिलम्व नगर सरकार ।

३.सेयर बजार सूचनामा आधारित संवेदनशील बजार हो । नयाँ सरकार गठन भएसँगै  निरन्तर घटिरहेको बजारलाइ सरकारले बेवास्ता गरेका कारण आम लगानीकर्ताहरुको भावनामा चोट पुगेको छ । सम्पत्तिमा लागेको चोटभन्दा भावनामा लागेको चोट कयौं गुणा महङ्गो हुन्छ । सरकार, लगानीकर्ताको भावनामा चोट पुर्याएर आर्थिक समृद्घि कसरी हासिल होला ख्वै !

४.सीमित क्षेत्रका कम्पनीहरुको मात्रै कारोबार हुने, त्यसमा पनि ती क्षेत्रका नियामकले पूँजी बढाउन दिएको निर्देशनको प्रभाव सोझै शेयर बजारमा पर्ने हुँदा मूल्यमा व्यापक उतारचढाव हुन्छ भन्ने सबैलाई ज्ञान थियो होला, तर बजार स्थायीत्व गर्न आवश्यक कदम चालेको ख्वै त ?

५.शेयर सम्पत्ति हो । बजारले त्यसको मूल्याङ्कन गर्छ । शेयर बजारको निरन्तर गिरावटले लगानीकर्ताको मात्र नभई शेयरधनी, कम्पनी प्रवद्र्घकहरुको सम्पत्तिमा पनि गिरावट आउँछ । सम्पत्तिमा क्षति भए कर्जा लिने क्षमतामा कमी आउँछ, फलस्वरुप व्यापार उद्योगधन्दा, आर्थिक गतिविधिको विकास र विस्तारमा कमी आउँछ, अनि देश कतातर्फ जान्छ ? अर्थशास्त्री ज्यूहरु कुरा के हो, बोलिदिनु पर्यो 

अर्थमन्त्रीज्यू बिलम्ब नगरी शेयर बजारलाई सम्बोधन गरिदिनुस् ।