काठमाण्डौ । ठूला चाडपर्वको मुखमा आन्तरिक बजारमा हुने उच्च मागको मौकामा लाखौ कमाउने उद्देश्यले तस्करी गर्दै गरेको अवस्थामा काठमाण्डौको क्षेत्रपाटीबाट ८८ केजी सुन पक्राउ परेको छ । 

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले विशेष सूचनाका आधारमा बा १७ च ६४२७ नम्बरको गाडीमा लुकाइल्याएको अवस्थामा ८८ केजी सुन र सवारी चालकलाई पक्राउ गरेको हो ।

महाशाखा प्रमुख एसपी दिवेश लोहनीले सवारी चालक मनोज अधिकारीलाई पनि नियन्त्रणमा लिएको छ । प्रहरीको विशेष टोलीले सुन तस्करी भएको सवारीलाई आइतबार रातिदेखि नै निगरानीमा राखेको थियो । 

नेपालमा हालसम्म तस्करी हुँदै गरेको अवस्थामा यति ठूलो परिमाणमा सुन बरामद भएको थिएन । यसअघिका धेरै घटनामा सुन बरामद भए पनि तस्करीका मुुख्य नाइकेसम्म प्रहरी पुुग्न सकेको छैन। 

सोमबार बिहानको यो घटनामा समेत पक्राउ परेका सवारी चालक अधिकारी भरिया मात्र रहेको प्रहरीको प्रारम्भिक आशंका छ । ८८ केजी सुन तस्करीमा देशका ठूला व्यापारीहरुको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताएको प्रहरीले थप कुरा भन्न चाहेको छैन । 

लामो समयदेखि चीनबाट नेपालतर्फ तस्करी हुने सुन प्रकरणमा प्रहरीले प्रभावकारी काम गर्न सकेको छैन । तस्करीको सुन पक्राउ परे पनि भरियालाई जेल हालेर मुख्य नाइकेलाई उन्मुक्ति दिने र अधिकांश प्रकरण सेटिङमा मिलाइने गरिएको छ । यहीकारण पनि सुन तस्करी नरोकिएको कतिपयको विश्लेषण छ । 

दशैंको मुखमा भएको पछिल्लो यो घटनामा समेत भरिया अधिकारीलाई जेल हालेर यसअघिका घटना झै तस्करीका नाइकेलाई भने उन्मुक्ति दिने उत्तिकै संभावना छ ।