काठमाण्डौ । राष्ट्रबैंकले तोकेको पूँजी पुर्याउने चटारो एकातिर छ भने अर्कोतर्फ हाइड्रोपावर लगायतका क्षेत्रका योजनाहरु संचालनका लागि ठूलो पूँजीको आवश्यकता छ । पछिल्लो समय हेर्ने हो भने विभिन्न कम्पनीले आफ्ना सेयरधनीलाई मात्र लक्षित गर्दै हकप्रद र बोनस सेयरको बाढी नै ल्याएका छन् । यसबाट ती कम्पनीका सेयरधनीलाई मात्र फाइदा पुगेको छ । अहिले पूँजीबजारतर्फ आँखा लगाउने धेरैको एउटै प्रश्न हुने गरेको छ–‘सर्वसाधारणका लागि चाहि सेयरमा लगानीको ठूलो अवसर कहिले आउँछ ? कुन–कुन संस्थाले यस्तो अवसर जुटाउँदै छन् ?’ यस्तो जिज्ञासा राख्नेहरुका लागि खुशीको खबर, दर्जन बढी कम्पनीले सर्वसाधारणका लागि लक्षित गरी ८९ करोड ५९ लाख रुपैयाँ बराबरको ८९ लाख ५९ हजार कित्ता साधारण सेयरको सार्वजनिक निश्कासन गर्दैछन् । 

नेपाल धितोपत्र बोर्डमा साधारण सेयरको सार्वजनिक निश्कासनका लागि केही जलविद्युत कम्पनी, केही विकास बैंक र बाँकी अन्य गरी दर्जन बढी कम्पनीले निवेदन दिएका छन् । यी निवेदनहरुको समयमै किनारा लागे अबको केही महिनाभित्रै सर्वसाधारणहरुले सेयरमा लगानीको ठूलो अवसर प्राप्त गर्नेछन् । 

धितोपत्र बोर्डका एक अधिकारीका अनुसार सिटी होम्स, नेपाल औद्योगिक विकास निमग, मर्केन्टायल फाइनान्स र राजधानी इन्भेष्टमेन्ट फण्डले सर्वसाधारणका लागि सेयरको सार्वजनिक निश्कासनको अनुमति मागेको धेरै भयो । यी संस्थाहरुले ०६६ सालदेखि नै निश्कासनको अनुमति मागे पनि यी संस्थाको आन्तरिक समस्याका कारण सार्वजनिक निश्कासनको हालसम्म टुंगो नलागे पनि केही सातामा निश्कर्ष आउने अवस्था छ। बोर्ड स्रोतका अनुसार  सिटी होम्सले ४ करोड ५० लाख रुपैयाँ बराबरको ४ लाख ५० हजार कित्ता सेयर निष्कासनको अनुमति माग्दै बोर्डमा ०६६ वैशाख २१ गते आवेदन दिएको थियो । राजधानी इन्भेस्टमेन्ट फण्डले चाहि १२ करोड ३२ लाख रुपैयाँबराबरको १२ लाख ३२ हजार कित्ता साधारण सेयर निष्कासनका लागि ०६६ फागुन १४ गते आवेदन गरेको थियो । 

यस्तै, औद्योगिक विकास निगमले १४ करोड ४१ लाख ७६ हजार ६ सय रुपैयाँ बराबरको १४ लाख ४१ हजार ७६ सय ६ कित्ता सेयर निष्कासनका लागि ०६६ चैत २६ गते बोर्डमा निवेदन दिएको थियो । 

उता, मर्केन्टायल फाइनान्सले १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता साधारण सेयर निष्कासनका लागि ०६७ साउन ३१ गते बोर्डमा निवेदन दिएको थियो । 

यसैगरी, धितोपत्र बोर्डका अनुसार समृद्धि विकास बैंकले पनि ३ करोड रुपैयाँ बराबरको सेयरको सार्वजनिक निश्कासनका लागि आवेदन दिएको छ । हाल यो बैंक मर्जरमा रहेको छ, यहीकारण ३ करोडको सार्वजनिक निश्कासन रोकिएको बताइएको छ । 

यसैगरी, ७ करोड रुपैयाँ बराबरको साधारण सेयर निश्कासनका लागि सानिमा माई सिनर्जी पावर डेभलपमेन्टले २०७१ चैतमा निवेदन दिएको थियो । त्यसैगरी हिमालयन पवर पार्टनरले गत फागुनमा १० करोड ६५ लाख रुपैयाँ बराबरको साधारण सेयर निष्कासनका लागि आवेदन दिएको बुझिएको छ । 

बोर्डका अनुसार यूनाइटेड मोदी हाइड्रोपावरले ११ करोड ५० लाख रुपैयाँ, आँखुखोला जलविद्यूत कम्पनीले ८ करोड रुपैयाँ, नेपाल हाइड्रो डेभलपर्सले २ करोड ६० लाख रुपैयाँ बराबरको साधारण सेयर निश्कासनको अनुमति माग्दै निवेदन परेको छ । सूर्योदय लघुवित्त कम्पनीले १ करोड २० लाख रुपैयाँ र सिभिल क्यापिटलले पनि ३ करोड रुपैयाँ बराबरका सेयर निश्कासनको अनुमति माग्दै बोर्डमा निवेदन दिएको छ । 

बोर्डले हकप्रदक र बोनस सेयरसँगै अब सर्वसाधारणले समेत भर्न पाउने गरी सार्वजनिक निश्कासन गरिएका सेयरहरु ठूलो मात्रामा आउने स्पष्ट पारेको छ । यो स्पष्टोक्तिले समेत लगानीकर्ताहरुले रकम ठीक पार्दै गर्दा हुने देखिन्छ ।