काठमाण्डौ । आउँदो जेठ महिनाबाट शुक्रबार पनि सेयर कारोबार हुने भएको छ। 

पेट्रोलियम पदार्थको खपत घटाउन नेपाल आयल निगमको प्रस्तावमा सरकारले जेठबाट लागू हुने गरी परीक्षणका रुपमा हप्तामा दुई दिन (शनिबार र आइतबार) बिदा दिने निर्णय गरेको छ। हाल सेयर कारोबार शुक्रबार हुँदैन। अब आइतबार सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेसँगै नेप्सेले पनि आइतबारको सट्टा शुक्रबार पनि सेयर कारोबार खुला गर्ने तयारी गरेको हो।

त्यसो केही समय अघिदेखि नै हप्तामा दुई दिन सार्वजनिक बिदा दिने विषयमा निकै चर्चा चलेको थियो। यही चर्चाबीच लगानीकर्ताहरुमाझ सेयर कारोबार अब हप्ता ४ दिनमात्रै हुने त होइन भन्ने जिज्ञासा थियो। 

सरकारले हप्तामा २ दिने सार्वजनिक बिदा दिने निर्णय गरेसँगै नेप्सेले पनि शुक्रबार सेयर कारोबार खुलाउने विषयमा छलफल अगाडि बढाएको हो। योसँगै अब लगानीकर्ताहरुले शुक्रबार पनि सेयर कारोबार गर्न पाउने भएका छन्।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्की जेठबाट शुक्रबार पनि सेयर कारोबार हुने बताउँछन्। ‘यदि धितोपत्र कारोबारसम्बन्धी ऐन–कानुनमै परिमार्जन गर्नुपर्ने रहेछ भने पनि नेपाल धितोपत्र बोर्डबाट गराएर आगामी जेठ महिनाबाट शुक्रबार पनि सेयर कारोबार खुला गर्छौं’, बिजशालासँग कार्कीले भने, ‘सरकारले पनि भर्खर निर्णय गरेको छ। हामी पनि शुक्रबार कारोबार खुलाउने विषयमा छलफल गर्दैछौँ।’

जे–जसरी पनि शुक्रबार सेयर कारोबार खुल्नेमा कार्कीले विश्वास दिलाए। ‘ऐन–कानुनमा परिमार्जन गर्नुपरेमा पनि गरौँला’, उनले भने, ‘प्राविधिक रुपमा मिलाउनुपरेमा पनि मिलाउँला।’ 

बजार विकास र विस्तार तथा लगानीकर्ताको हितका लागि नेप्सेले कुनै कसर बाँकी नराख्ने कार्कीको भनाइ छ।