काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघकी उपाध्यक्ष एवं रोजगारदाता परिषद्की सभापति ज्योत्सना श्रेष्ठले अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १११ औँ सम्मेलनलाई नेपालको रोजगारदाताकोतर्फबाट मंगलबार साँझ जेनेभामा सम्बोधन गरेकी छन्। 

सम्मेलनमा श्रेष्ठले कोभिड–१९ महामारीको पीडा सम्पूर्ण विश्वले नै भोग्नुपरेको र यो महामारीले अर्थतन्त्रका सबै क्षेत्र, रोजगारी र समग्र सामाजिक जनजीवनलाई प्रभावित पारेको बताइन्। कोभिड महामारीका कारण गएको ३ वर्षमा सामाजिक–आर्थिक गतिविधि र मानव जीवनमा गम्भीर असर पार्नुका साथै महामारीले विकास प्रक्रियालाई नै पछाडि धकेलिदिएको र आर्थिक मन्दीको झट्काको सामना विश्वले गर्नुपरेको श्रेष्ठले बताइन्। 

नेपालमा कोभिड महामारीबाट भएको नोक्सानीको छिट्टै रिकभरीको अपेक्षा गर्दैगर्दा पुनः अर्थतन्त्रमा आएका केही आन्तरिक चुनौतीका कारण आर्थिक गतिविधि सुस्त भएको र अपेक्षाकृत अर्थतन्त्र विस्तार हुन नसकेको श्रेष्ठले जानकारी गराइन्। विभिन्न चुनौतीका बाबजुद पनि नेपालको निजी क्षेत्र व्यापार वृद्धि, मर्यादित रोजगारी सिर्जना, सामाजिक सुरक्षा प्रणालीको अभिवृद्धि, साना तथा मझौला उद्यमको प्रवर्द्धन र व्यवसायको औपचारिकीकरण गर्न प्रतिबद्ध रहेको उनले विश्व मञ्चमा प्रतिबद्धता व्यक्त गरिन्। 

सभापति श्रेष्ठले परिवर्तित सन्दर्भमा सूचना प्रविधिको बढ्दो प्रयोग, कामगर्ने पद्धतिमा आएको परिवर्तनबाट श्रम बजार र श्रम सम्बन्धमा पनि परिवर्तन आउने र यसबाट रोजगारी कटौती तथा नयाँ शीपयुक्त जनशक्तिको आवश्यकता पर्ने उल्लेख गरिन्। श्रेष्ठले कार्यस्थलको सुधार, स्वास्थ्य सेवा र सामाजिक सुरक्षाका क्षेत्रमा थप लगानी गर्नुपर्ने आवश्यकतामा जोड दिइन्। 

सभापति श्रेष्ठले नेपालमा श्रम ऐन र सामाजिक सुरक्षा ऐनअनुसार योगदानमा आधारित सामाजिक सुरक्षा योजनाहरु लागू भइरहेको जानकारी गराइन्। उनले भनिन्, ‘नयाँ श्रम ऐनका प्रावधानहरु सबै कामदारका लागि लागू हुनेछन् र यसले राम्रो कामको अवस्था सुधार गर्न, मर्यादित रोजगारी सिर्जना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ।’ 

बाल श्रम उन्मूलन र डिसेन्ट वर्क कन्ट्री प्रोग्राममा राष्ट्रिय गुरुयोजना विकास गर्न महासंघ परामर्श प्रक्रियामा सक्रिय रुपमा संलग्न भइरहेको जानकारी गराउँदै श्रेष्ठले सबै प्रकारका बालश्रम उन्मूलनका लागि रोजगारदाता संगठनले सबै सरोकारवालासँग नजिकबाट काम गरिरहेको पनि बताइन्। 

श्रेष्ठले नीतिगत सुधार, सीप विकास, पेसागत सुरक्षामा महासंघको मुख्य जोड रहेको र सोहीअनुसार कार्यक्रम पनि भइरहेको जानकारी गराइन्। उनले नेपालको रोजगारदाता संस्थाले नीतिगत सुधार एवं केन्द्र, प्रदेश र स्थानीय सबै तहमा सामाजिक संवादको संयन्त्रको सबलीकरण गर्ने काम गरिरहेको र रोजगारदाता संस्थाले तय गरेका रणनीति तथा कार्यक्रमहरु रोजगारी सिर्जना, आर्थिक वृद्धि र व्यसायको दीगोपनमा केन्द्रीत रहेको उल्लेख गरिन्। 

१७६ भन्दा बढी मुलुकका सरकार, रोजगारदाता र ट्रेड युनियन प्रतिनिधिहरुको सहभागिता रहेको आईएलओ सम्मेलन जून ५ देखि सुरु भएको थियो भने सम्मेलन जुन १६ सम्म चल्नेछ। 

सम्मेलनमा महासंघको रोजगारदाता परिषद्की सभापति श्रेष्ठको नेतृत्वमा शिक्षा, सीप विकास तथा रोजगार समितिका सभापति गोपाल खनाल, नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोककुमार अग्रवाल (टेमानी), महासंघका वरिष्ठ परामर्शदाता हंसराम पाण्डेले भाग लिइरहेका छन्।