काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा कोशी प्रदेशको कृषि क्षेत्रमा सार्वजानिक निजी साझेदारी संवाद कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। 

नेपाल उद्योग वाणिज्य महासघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतको अध्यक्षतामा भएको कार्यक्रम भएको हो। कार्यक्रममा अध्यक्ष राउतले कोशी प्रदेशमा कृषि क्षेत्रको विकासमा निजी क्षेत्रको साझेदारी आवश्यक रहेको बताए। 

अध्यक्ष राउतले कृषि क्षेत्रमा आवश्यक पर्ने स्रोतसाधन र सीप तथा उपकरणहरुको विकास र विस्तारमा निजी क्षेत्र सहयोग गर्न निजी क्षेत्र तयार रहेको बताए। उनले कृषि प्रविधिको विस्तार र विकासका लागि निजी क्षेत्र र सार्वजनिक क्षेत्रबीच सहकार्य आवश्यक रहेको पनि औँल्याए। 

कार्यक्रममा मकालु एग्रो एन्ड फुडका सञ्चालक नितेश कार्कीले जूम्लाबाट स्याउ ल्याएर बजारीकरण गर्न थालिएको आयातीत स्याउको गुणस्तरबारे नियमन हुनुपर्ने बताए। कृषि अभियन्ता जीवनप्रकाश राईले कृषिउपजमा अनुसन्धान र प्रचारसँगै हुनुपर्नेमा जोड दिए। 

कार्यक्रममा उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. लेखराज दाहालले सार्वजनिक निजी साझेदारी संवादमा उठेका महत्वपूर्ण सुझावहरुलाई ग्रहण गरेर अघि बढ्ने प्रतिबद्धता जनाए। उनले उत्पादन लागत कम भएका कृषिउपजको मूल्य निर्धारणमा ध्यान दिन सकिए बजारीकरणको सम्भावना अझै धेरै बढ्ने धारणा राखे। 

सचिव दाहालले निजी क्षेत्रको पुँजी र प्रविधि परिचालन गर्न प्रदेश सरकार तयार रहेको बताए। कोशी प्रदेशअन्तर्गत इनरुवादेखि काँकडभिट्टासम्मको करिडोरमा कृषि उत्पादनको बजार व्यवस्थापनमा मण्डीहरुको स्थापना गर्न आवश्यक अध्ययनका लागि प्रदेश सरकार तयार रहेको जानकारी दिँदै उनले उत्पादित कृषि वस्तुको उचित भण्डारण क्षमता वृद्धि गर्नुपर्नेमा जोड दिए। 

कार्यक्रममा कृषिविज्ञ डा. राजेन्द्र उप्रेतीले कोशी प्रदेशमा कृषि क्षेत्रको विकासमा सार्वजनिक र निजी क्षेत्रबीच सहकार्यका सम्भावनाबारे कार्यपत्रमार्फत अवसरहरु औँल्याए। उनले कृषि प्रविधि विकास र प्रसारमा दुई पक्षबीच साझेदारी हुनुपर्नेमा जोड दिए।