– अर्जुन तिमिल्सिना
काठमाण्डौ । सामाजिक सञ्जालहरुमा सेयर बजारको विषयमा चर्चा–परिचर्चा हुनु सामान्य कुरा हो। पछिल्लो समय क्लब हाउस संसारमै लोकप्रिय हुँदै गएको छ। विभिन्न विषयवस्तुका बारेमा छलफल हुने यो सञ्जाल सूचना तथा ज्ञानको हिसाबले उपयोगी पनि देखिन्छ।
नेपालमा मात्रै नभएर विकसित देशहरुका लगानीकर्ताले पनि क्लब हाउसमा छलफल गरेका हुन्छन्। तर नेपालमा सेयर बजारका बारेमा सकारात्मकभन्दा नकारात्मक टीकाटिप्पणी बढी हुन थालेपछि ब्रोकर हाउसमा भेटिएका लगानीकर्ताहरुले क्लब हाउसको औचित्यमाथि नै प्रश्न उठाउन थालेका छन्। लगानीकर्ता टेकेन्द्र क्षेत्रीले भने, ‘अहिले क्लब हाउस आफ्नो स्क्रिप्टका बारेमा बढाइचढाइ गर्ने, कहिले त लाइभ बजार चलेको बेलामै खरिदबिक्रीका लागि उस्काउने तथा जुँगाको लडाइँ लड्ने थलो बनेको छ।’
ब्रोकर हाउसमै भेटिकी विन्दु न्यौपाने पनि बेला–बेलामा आफू पनि क्लब हाउस छिर्ने गरेको बताउँछिन्। ‘तर सूचना तथा ज्ञानगुनका कुराभन्दा पनि बढी नकारात्मक विषयवस्तुका चर्चा हुँदा झन डरको अवस्था सिर्जना हुँदो रहेछ’, उनले भनिन्, ‘अहिले बजार घटाउने मुख्य अस्त्र राष्ट्र बैंकको नीतिभन्दा क्लब हाउस नै बनेको छ।’
न्यौपानेले क्लब हाउसका सबै फोरम खराब भने नभएको तर्क गरिन्। केही फोरम भने सूचना र ज्ञानका लागि उपयोगी भए पनि धेरैजसो सोचविचार गर्नुपर्ने रहेको उनले बताइन्।
नाम उल्लेख नगर्ने सर्तमा एक लगानीकर्ताले क्लब हाउस बन्दै गर्नुपर्ने सुझाव दिए। ‘नियामक निकायले बेलैमा यसलाई नियन्त्रण गर्न नसके ठूलो दुर्घटना हुन सक्छ’, उनले भने, ‘सेयर बजार मनोविज्ञानमा चल्ने भएकोले लगानीकर्ताको मनोविज्ञान नै प्रभाबमा पर्ने गरी कम्पनीको नामै र इन्डेक्स तोक्नेजस्ता क्लब हाउसमा हुने गरेको छ। यस्ता काम कुनै पनि हालतमा बजारका लागि सह्य हुँदैन।’
नेपाल धितोपत्र बोर्ड (सेबोन) का एक उच्च अधिकारीले क्लाब हाउसमा मात्रै नभएर अन्यत्र कतै पनि बजारलाई प्रभाव पार्ने काम गर्न नपाइने बताए। त्यस्तो भेटिएमा बोर्डले आवश्यक कारबाही प्रक्रिया अगाडि बडाउने तीन अधिकारीले स्पष्ट पारे।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago