काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले पुँजीगत खर्च गर्नू भनेर सचिवहरुलाई बारम्बार दबाब दिइरहनु राम्रो नहुने बताएका छन्।

अर्थ मन्त्रालयमा मंगलबार भएको आर्थिक वर्ष २०७८/७९ को हालसम्म भएको पुँजीगत खर्चको समीक्षा बैठकमा अर्थमन्त्री शर्माले यस्तो धारणा राखेका हुन्। उनले ‘खर्च गर्नुहोस्’ भनेर सचिवहरुलाई भनिरहनु नपर्ने र भनिरहँदा राम्रो सन्देश नजाने बताए। ‘पुँजीगत खर्च गर्ने सन्दर्भमा बारबार यस्तो बैठक गर्नु आवश्यक होइन, राम्रो कुरा होइन’, उनले भने, ‘समस्याको सहजीकरण गर्नु ठिकै हो। तर खर्च गर्नुपर्छ भनेर दबाबका रुपमा दबाब दिइरहनुपर्ने कुरा ठिक संस्कार होइन। यसको अन्त्य गर्नुपर्छ।’

मन्त्री शर्माले सबै मन्त्रालय र जिम्मेवार व्यक्ति आ–आफ्नो ठाउँबाट जिम्मेवार भएर लागे दबाब दिइरहनुपर्ने अवस्थाको अन्त्य हुने बताए। 

यसैगरी मन्त्री शर्माले हरेक मन्त्रालयका सचिवले खर्च हुन सक्ने र नसक्ने योजनाहरुको स्पष्ट विवरण दिन निर्देशन दिए। जनतामा सरकारले पुँजीगत खर्च गर्नै नसक्ने भन्ने सन्देश प्रवाह भएको उल्लेख गर्दै उनले खर्च गर्न सकिने तथा नसकिने योजनाहरुको सूची बनाउन निर्देशन दिएका हुन्। 

खर्च हुने कुरामा सतप्रतिशत जिम्मेवारी लिएर त्यस्तो सूची तयार पार्न शर्माले निर्देशन दिए। उनले खर्चको अर्धवार्षिक समीक्षापछि आ–आफ्नो अनुभवसहितको सुझावसमेत दिन सचिवहरूलाई निर्देशन दिए। 

पुँजीगत खर्च बढी हुने मन्त्रालयहरुले विशेषगरी अग्रसरता लिएर योजनाहरुलाई अगाडि बढाउनुपर्नेमा पनि मन्त्री शर्माले जोड दिए। त्यसमा पनि पछिल्लो समय कृषि मन्त्रालयको भूमिका थप हुनुपर्ने उनको भनाइ थियो।