काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले नयाँ प्रविधिको दुरुपयोग गरी पुँजी पलायन भइरहेको बताएका छन्। 

आज नागरिक लगानी कोषको ३२ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्ने क्रममा मन्त्री शर्माले क्रिप्टोकरेन्सी, डिजिटल नेटवर्किङ, हाइपर फण्डलगायत नयाँ प्रविधिको दुरुपयोग गरी पुँजी पलायन भइरहेको बताएका हुन्। ‘नयाँ विकास भएका विभिन्न प्रविधिहरुको दुरुपयोग गरेर क्यापिटल फलाई हुने प्रक्रिया देखा परेको छ’, उनले भने, ‘त्यसलाई नियन्त्रण गर्न विभिन्न संयन्त्र परिचालन भइसकेका छन्।’

नगद घरमै लुकाएर राख्ने प्रवृत्तिका कारण तरलता अभाव सिर्जना भएको शर्माले संकेत गरे। पछिल्लो समय पैसा लुकाएर राख्ने प्रवृत्ति झन् बढेको भन्दै उनले त्यस्तो पैसा खोज्न थालेको बताए। 

ओछ्यानमुनी वा सिरानमुनी पैसा राख्ने प्रवृत्ति बढेको भन्दै खोज्न थालेको शर्माले बताए। ‘पुँजी कतै हराइरहेको छ। आखिर बजारबाट पैसा कहाँ हराइरहेको छ ? कतै सिरानीमुनी र ओछ्यानमुनी त बन्द रहेको छैन भन्ने कुराको खोजीमा म लागेको छु’, उनले भने, ‘हाम्रो पुँजी निस्क्रिय भएर कतै बसिरहेको त छैन ? यता तिर पनि हामी सबै नागरिकको ध्यान जानुपर्छ।’

पछिल्लो समय मुलुकले तरलता अभावको समस्या खेप्नेक्रम लम्बिएपछि अर्थ मन्त्रालय पुँजी जुटाउन निरन्तर क्रियाशील भइरहेको शर्माले बताए। ‘बैंक ब्याजदर व्यवसायी अनुकूल हुनुपर्छ भनेर मैले भन्दै आएको छु’, उनले भने, ‘उत्पादनमूलक क्षेत्रमा प्रवाह हुने कर्जाको बेसरेट २ प्रतिशतभन्दा बढी हुनुहुँदैन भनेर मैले राष्ट्र बैंकलाई सल्लाह दिएको छु।’

बैंकिङ प्रणालीमा विस्तारै निक्षेप बढ्न थालेकाले तरलताको समस्या केही दिनमै हल हुने शर्माले बताए। 

मन्त्री शर्माले मुलुकले अहिले भोगिरहेको शोधानान्तर घाटाको स्थिति अन्तर्राष्ट्रिय बजार मूल्यको असर भएको बताए। ‘अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम, डन्डी तथा डन्डीजन्य बस्तु, खानेतेल, प्लास्टिकलगायतको मूल्य बढेको छ’, उनले भने, ‘त्यस्तै ढुवानी गर्ने पानीजहाज, कन्टेनरको भाँडादर पनि वृद्धि भएको छ। अर्कातिर डलरको बिनिमयदर पनि बढेको छ। त्यसैले यो सबैको चाप भुक्तानीमा पर्न गयो र शोधानान्तरस्थित हामीले सोचेभन्दा केही फरक पर्न गएको हो।’

पछिल्लो समय शोधानान्तर स्थिति सुधार हुन थालेको बताउँदै शर्माले चाँडै अर्थतन्त्र लयमा आउने विश्वास पनि दिलाए। रेमिट्यान्सको एजेन्ट कमिसनदर कम गराउन पहल भइरहेको तथा रेमिट्यान्स बचतमा १ प्रतिशत ब्याजदर बढी दिएर आकर्षित गर्ने काम भइरहेको पनि उनले जानकारी दिए। 

नागरिक लगानी कोषलाई धेरैभन्दा धेरै पुुँँजी भित्र्याउन र लगानीकर्तालाई उचित प्रतिफल दिएर आकर्षित गर्न उनले निर्देशन दिए। 

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले सेयर बजारलाई व्यवस्थित गर्न संस्थागत सुशासन आवश्यक भएको बताए। सेयर बजारमा लगानी कोषको भूमिका महत्वपूर्ण  हुने भन्दै कोस संग सहकार्य गर्न बोर्ड तयार रहेको उनको भनाइ थियो। 

कार्यक्रमलाई स्वागत गर्दै कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषले अहिले विभिन्न १२ वटा कार्यक्रममा करिब ८ लाखभन्दा बढी सहभागीहरुलाई आबद्ध गराई आफ्नो सेवा देशभर पुर्याइरहेको बताए। 

कोषको चुक्तापुँजी ३ अर्ब २७ करोड रुपैया पुगेको छ भने चालु आर्थिक बर्षको पुस मसान्तसम्म कोषको खुद मौज्दात रकम १ खर्ब ८४ अर्ब ९० करोड रुपैयाँ रहेको छ। यो अवधिमा कोषले १ खर्ब ८३ अर्ब ९१ करोड लगानी गरेको छ। कोषले लगानी गर्दा सुरक्षित र उच्च प्रतिफल मुखी राष्ट्रिय गौरव र प्राथमिकताका परियोजना छान्नुपर्ने बिषयलाई कोषले उच्च प्राथमिकता दिएको पनि कार्यकारी निर्देशक नेपालले बताए। 

कोषले पुँजी बजारमा संस्थागत लगानी भित्र्याउने उदेश्यले नागरिक स्टक डिलर कम्पनी स्थापना भई सञ्चालनमा आइसकेको छ। कम्पनीमा कोषको ५१ प्रतिशत सेयर स्वामित्व रहेको छ भने पुर्नबिमा कम्पनीको १० प्रतिशत र नेपाल टेलिकमको ९ प्रतिशत सेयर स्वामित्व रहेको छ। बाँकी ३० प्रतिशत सर्वसाधारणलाई छुटयाइएको छ। नागरिक स्टक डिलर नेपालको पहिलो स्टक डिलर कम्पनीको रुपमा रहेको पनि नेपालले बताए। 

कोषका विभिन्न कार्यहरुलाई थप व्यवस्थित गर्न कार्यविधिलाई कार्यान्वयनमा ल्याइसकेको नेपालको भनाइ थियो। उनले कोषले आवाश कर्जा बापत सहभागीलाई १५ वर्षको सुरु तलबमानको रकम वा ८० लाख रुपैयाँमध्ये जुन कम हुन्छ सोबराबरको रकम प्रदान गर्ने कार्य सुरु गरिसकेको धारणा राखे। 

नेपालले कोषका कार्यक्रममा पति, पत्नि दुवै सहभागी भएको भए आवाश कर्जा सिमालाई १ करोड रुपैयाँसम्म सुविधा प्रदान गर्ने कार्य सुरु गरिसकेको जानकारी दिए। 

कार्यक्रममा कोषका सञ्चालक ईश्वरीप्रसाद अर्यालले कोषमा सीमित जनशक्ति रहे पनि सञ्चालनदेखि कोष नाफामा गएको बताए।उनले भने, ‘कोषले सीमित क्षेत्रमा रहेको लगानीको अवधारणलाई विस्तार गर्नुपर्छ।’

त्यसैगरी कोष कर्मचारी युनियनका अध्यक्ष सुरेश चालिसे र नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष देव गुरागाईंले नागरिक पेन्सन योजनालाई बजेटमा समावेश गर्नुपर्ने, बजेट मार्फत कर छुटको सिमा बढाउनुपर्ने, कोष सरहकै अन्य संघ संस्थाले पाउने सुविधा कर्मचारीले पाउनुपर्ने धारणा राखेका थिए। 

कार्यक्रममा कोषले २० बर्ष सेवा पुगेका र उत्कृष्ठ कर्मचारीलाई सम्मान गरेको थियो।