– अर्जन तिमिल्सिना 

काठमाण्डौ । सेयर बजारमा बहुप्रतिक्षित र चासोको विषय रहेको मार्जिन कारोबार तत्काल कार्यान्वयनमा नआउने भएको छ। 

नेप्सेद्वारा सञ्चालित वाइको कम्पनीको टीएमएसमा मार्जिन कारोबारका लागि आवश्यक पर्ने फिचर छैन। ब्रोकरलाई मार्जिन कारोबार भएको आफ्नो ग्राहकको कारोबार विवरण छुट्टै आवश्यक हुन्छ। त्यसका लागि ब्रोकरबाट मार्जिन कारोबार भनेर चिनिने छुट्टै खाता आवश्यक पर्छ।

स्टक ब्रोकर्स एसोसिसन अफ नेपालका अध्यक्ष सन्तोष मैनाली हालको टीएमएसमा यस्तो विवरण राख्न मिल्ने फिचर नै नरहेको बताउँछन्। ‘हालै आएको मार्जिन कारोबारसम्बन्धी कार्यविधिमा पनि मार्जिन कारोबारका लागि ग्राहकको छुट्टै खाता खोल्नुपर्ने व्यवस्था छ’, उनले भने, ‘तर, हालको टीएमएसमा ग्राहकको दुईवटा खाता खोल्न मिल्ने फिचर छैन।’

मैनालीका अनुसार मार्जिन कारोबारका लागि मुख्य समस्या स्रोत पहिचानको भएकोमा प्राविधिक समस्या पनि रहेको औँल्याए। ‘तर, नेप्सेको अनुरोधमा वाइकोले फिचर थप्न भने सक्छ’, उनले भने। 

ब्रोकरहरुले ल्याउँदै गरेको नयाँ टीएमएसमा भने मार्जिन कारोबारको फिचर रहेकोले कुनै समस्या नरहेको मैनालीको दाबी छ। ‘हामीले ल्याउने भनेको टीएमएसका लागि हाल तीनवटा ब्रोकरले नेप्सेमा आवेदन दिएका छन्, केही दिनमा अरुले पनि दिनेछन्’, उनले भने। 

मैनालीका अनुसार मार्जिन कारोबार मुख्यगरी स्रोतको विषयमा स्पष्ट नभएका कारण हाल यो सुविधा कार्यान्वयनमा ल्याउन नसकिएको हो। 

नयाँ टीएमस ल्याउने कार्यमा नेतृत्व गरेका त्रिशक्ति सेक्युरिटिज पब्लिक लिमिटेडका सञ्चालक टंकप्रसाद गौतमले नयाँ टीएमएस आउन अझै ३ महिनाभन्दा बढी समय लाग्न सक्ने जानकारी दिए।