- अनन्त्य सुन्दर

काठमाण्डौ । नेपाली सेयर बजारमा केही समययता नियामक निकायको कडाइ, मौद्रिक नीति, ब्याजदरलगायत अन्य थुप्रै कारणले गर्दा भारी अंकको उतारचढाव भइरहेको छ। अहिले बजार १०० अंकभन्दा बढीले बढ्नु र १०० अंकभन्दा बढीले नै घट्नु सामान्य कुरा हुन थालेका छन्। 

नागरिक स्टक डिलर सञ्चालनमा आएसँगै अधिकांश लगानीकर्ताको बुझाइमा स्टक डिलरले सेयर खरिदबिक्री गरी बजारको अस्वाभाविक उतारचढाव नियन्त्रण हुन्छ भन्ने छ। ‘बजारमा अहिले चलखेलमात्र हुन्छ। लगानीकर्तामा अहिले आफूले गरेको लगानी डुब्ने त होइन ? भन्ने डर सिर्जना हुन् थालेको छ’, एक सक्रिय लगानीकर्ताले भने, ‘बजारमा उतारचढाव हुँदा महत्वपूर्ण भूमिका खेल्ने भनेको नागरिक स्टक डिलर के गर्दैछ?’

नागरिक लगानी कोषको सहायक कम्पनी नागरिक स्टक डिलरका सीईओ महेश्वरलाल श्रेष्ठका अनुसार स्टक डिलर आफ्नो लगानी रणनीति र विश्लेषणअनुसार नै सेयर खरिदबिक्री गरिरहेको बताउँछन्। ‘स्टक डिलरको काम नै सेयर खरिदबिक्री गर्ने हो। हामी हिजो पनि सेयर खरिदबिक्री गर्दै थियौँ, आज पनि गर्दैछौँ र भोलि पनि गर्छौं’, उनले भने।

अहिले अधिकांश लगानीकर्तालाई स्टक डिलरले बजारमा सेयर खरिद गरेर बजार माथि पुर्याउने भन्ने गलत अवधारण रहेको श्रेष्ठको भनाइ छ। ‘हामीले घट्दो बजारमा सक्रिय भएर सेयर बेच्ने र बढ्दो बजारमा सक्रिय भएर किन्ने भन्ने हुँदैन’, उनले भने, ‘हाम्रो आफ्नै दीर्घकालीन लगानी रणनीति हुन्छ। कम्पनीको फन्डामेन्टल, प्राविधिक विश्लेषण गरेर सेयर खरिदबिक्री गर्नुपर्ने हुन्छ। हामी कुनै निकायको डोनेसनबाट चलेको संस्था होइन। हामी पनि हाम्रो प्रोमोटरप्रति जबाफदेही हुनुपर्छ।’

नागरिक स्टक डिलर सञ्चालनमा आएको ६–७ महिनामै बजार घट्न दिँदैन भन्ने लगानीकर्तामा अहिले बुझाइ गलत रहेको श्रेष्ठले स्पष्ट पारे। ‘नियामक निकायहरुले पनि गर्न नसकेको काम हामीले कसरी गर्न सक्छौँ?’, श्रेष्ठले प्रश्न गर्दै भने, ‘हामीले आ–आफ्नो लगानी रणनीतिअनुसार लगानी गर्ने हो। बजारलाई नै आफ्नो नियन्त्रणमा ल्याउने भन्ने हुँदैन।’

अहिले बजारमा कम सेयर भएका केही कम्पनीहरुमा चलखेल भइरहेको उल्लेख गर्दै श्रेष्ठले भने, ‘हामीजस्तो संस्थागत लगानीकर्ताले ठूलो संख्यामा सेयर खरिद गर्नुका साथै होल्ड गर्ने भएकाले बजारमा लगानीकर्ताको मनोबल उच्च हुनुका साथै बजारमा सकारात्मक प्रभाव पर्छ। त्यसैले बजारमा हामीजस्तो अन्य संस्थागत लगानीकर्ता बजारमा आयमा चलखेल न्यूनीकरण हुन्छ।’ 

नेपालमा मात्र नभई विश्वका सबै सेयर बजारमा उतारचढाव हुने श्रेष्ठले बताए। ‘सेयर बजारमा सधैँ नाफा हुने भए अन्य व्यवसायीहरु पनि आफ्नो व्यवसाय छाडेर सेयरमा लगानी गर्थे’, सुझाव दिँदै उनले भने, ‘नागरिक स्टक डिलरले भविष्यवाणी गरेर लगानी गर्ने भन्ने हुँदैन। हामीले पनि विगतको ट्रेन्ड हेरेर लगानी गर्ने हो। त्यसैले अरुले कमाउँदा हामीले पनि कमाउने हो। अरुले गुमाउँदा हामीले पनि गुमाउने हो। त्यसैले लगानी गर्दा लगानीकर्ताले प्राविधिक, फन्डामेन्टलका साथै बजारको अवस्था हेरेर मात्र लगानी गर्नुपर्छ।’

लगानीकर्ताले आफ्नो जोखिम लिने क्षमता हेरेर आफ्नो सम्पत्ति लगानी गर्दा कहाँ लगानी गर्ने  भनेर आफैँले निर्णय गर्नुपर्नेमा श्रेष्ठले जोड दिए। ‘अहिले धेरैजसो लगानीकर्ताले ऋण गरेर हल्लाको पछि लागेर र अरुले भनेकै भरमा लगानी गर्ने गरेको पाइन्छ। यसले गर्दा बजारमा सानो उतारचढावले नै प्यानिक हुन्छन्’, उनले भने, ‘तर, हामीजस्तो संस्थागत लगानीकर्ताले सेयर ठूलो संख्यामा खरिद गर्ने र होल्ड गर्ने भएकाले बजारमा लगानी गर्दा लगानीकर्ता आतिँदैनन्।’