काठमाण्डौ । नेपाल उद्योग परिसंघले नेपाल अहिले आर्थिक संकटको अवस्थामा नरहेको जनाएको छ। अहिले संयमित भएर कार्य अघि बढाउनुपर्ने अवस्था रहेको पनि परिसंघको भनाइ छ। 

परिसंघले देशको विद्यमान आर्थिक अवस्था एवं नियमनकारी निकायबाट जारी निर्देशनपश्चात उत्पन्न परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गरेको हो। अहिले उपलब्ध तथ्यांक र विगतको परिदृश्यको समेत विश्लेषण गर्दा नेपाल अहिले आर्थिक संकटको अवस्थामा नरहेको परिसंघले ठहर गरेको हो। 

परिसंघले नेपाल र श्रीलंकाबीचको तुलना अमिल्दो रहेको जनाएको छ। ‘नेपाल र श्रीलंकाको कुल गार्हस्थ्य उत्पादनको आकार दोब्बर अन्तर रहेको छ’, परिसंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कुल गार्हस्थ्य उत्पादनको तुलनामा नेपालको कुल राष्ट्रिय ऋण ४०.५ प्रतिशत र श्रीलंकाको १११ प्रतिशत रहेको छ।’

नेपालको कुल सञ्चिती ६.७ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने रहेको तर श्रीलंकासँग १ महिनाको पनि वस्तु र सेवा आयात धान्न सक्ने अवस्था नरहेको विज्ञप्तिमा जनाइएको छ। ‘मुद्रास्फीति नेपालको ७ प्रतिशत रहेको छ’, विज्ञप्तिमा उल्लेख छ, ‘जब कि श्रीलंकामा २५ प्रतिशत रहेको तथ्यांकले नेपाल र छिमेकी देश श्रीलंकाबीच तुलना गर्न नसकिने अवस्था प्रस्ट पारेको छ । यसकारण असहज र अत्यासलाग्दो वातावरण सिर्जना हुने गरी तुलना गरिनु हुँदैन।’