काठमाण्डौ । साताको पहिलो कारोबार दिनमै बजार घटेको छ । आइतबार नेप्से परिसूचक करिब ३२ अंकले घटेर १८८५.३१ को विन्दूमा खुम्चिन पुगेको हो । 

गत कारोबार दिनको तुलनामा कारोबार रकम बढे पनि लगानीकर्ताको मनोबलमा चमात्कारिक सुधार हुने अवस्था देखिएको छैन । 

मर्जरका कारण लामो समयसम्म रोकिएको कतिपय कम्पनीको सेयर कारोबार खुल्दा बजारमा सप्लाई बढेको तथा आयात खुलाउने निर्णयले लगानीकर्ताको मनोबल गिराउने भूमिका खेल्दा बजार राताम्मे बन्न पुगेको हो ।

बजार जानकार तथा विश्लेषकहरुका अनुसार कतिपय स्मार्ट लगानीकर्ता तथा कारोबारी नयाँ सरकार कस्तो बन्छ भन्ने विषयमा ‘पर्ख र हेर’को रणनीतिमा रहँदा समेत त्यसको प्रभाव बजारमा पर्न थालेको छ ।  

यो दिन नेप्सेका सबै समूहको उपसूचक राताम्मे बने । सबैभन्दा बढी बैंकिङ इण्डेक्समा २.३० प्रतिशतको गिरावट आयो भने अन्य समूहको अवस्था पनि निराशाजनक देखियो।

कुन उपसमूह कति अंकले घटे ? हेर्नुहोस् टेबल:

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन लामो समयपछि कारोबार खुलेको सीवाइसी लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । समीट लघुवित्त र मैलुङ खोला जलविद्युत कम्पनीको सेयरमूल्यमा पनि पोजिटिभ सर्किट लाग्यो । 

नाडेप लघुवित्तका सेयरधनीले चाहिँ सबैभन्दा धेरै गुमाए । यो कम्पनीको सेयरमूल्यमा आइतबार पनि नेगेटिभ सर्किट लाग्यो । 

धेरै कमाउने र गुमाउने मुख्य १० कम्पनीको सूची टेबलमा हेर्नुहोस्:

यसैगरी, यो दिन शिवम सिमेन्टले सबैभन्दा बढी १० करोड ९३ लाख बढीको कारोबार गर्यो । 

नवील बैंकले ७ करोड ५८ लाख, हिमालयन डिस्टीलरीले ५ करोड ५ लाख,  एनआइसी एशिया बैंकले ३ करो ९२ लाख तथा रिडी पावरले ३ करोड २० लाख बढीको कारोबार गरे । 

धेरै कारोबार गर्ने १० कम्पनीको सूची हेर्नुहोस्:

विश्लेषकका यस्ता तर्क

पूँजी बजार दवाब समूहका महासचिव नयन बास्तोलाले सरकारले प्रतिबन्ध लगाएका वस्तुहरुको आयात खुलाउँदा त्यसको प्रभाव सेयर बजारमा परेको बताए । उनका अनुसार आयात बन्द हुँदा कतिपयले आफ्नो पूँजी वैकल्पिक लगानीको रुपमा सेयर बजारमा खन्याएका थिए । फेरि आयात खुलेर पुरानै व्यापार सुचारु हुँदा पूँजीबजारमा लगाएको पैसा त्यसतर्फ जाने हुँदा यसले बजारमा नकारात्मक प्रभाव परेको दाबी गरे । 

‘आयात खुलेको बाहाना गरेर बजारमा म्यानुपुलेसन गर्ने र सोहीअनुसारका समाचार प्रवाह गरेर लगानीकर्ताको मनोबल गिराउने काम पनि भइरहेको छ ।’ बास्तोलाले भने–‘यस्तै, कतिपय लगानीकर्ताको मनोबल अन्तराष्ट्रिय क्षेत्रमा देखिएको आर्थिक मन्दी लगायतका कारणले पनि गिरेको पाइन्छ ।’ 

बजार जानकार महेश रिजालको भनाईमा मर्जरमा गएका कम्पनीको एकपछि अर्को गर्दै कारोबार खुल्दा सप्लाई आएर बजार घट्न सहयोग पुगिरहेको छ भने शिव सिमेन्ट लगायतका कतिपय स्टकमा एकाएक बढेको सप्लाईले पनि नकारात्मक प्रभाव पारेको देखिएको छ । ‘यो बेला कतिपय प्राविधिक तथा फण्डामेन्टल विश्लेषकहरुले तोकेरै बजार घट्छ भन्ने अभिव्यक्ति दिएका कारणसमेत लगानीकर्ताको मनोबल कमजोर भएको देखिन्छ ।’ उनले भने–‘तर कतिपय स्मार्ट ट्रेडर भने पर्ख र हेरको रणनीतिमा छन् ।’ 

बास्तोला र रिजालले नै बजारको आइतबारको गिरावटलाई ‘करेक्सन’को संज्ञा दिएका छन् ।