काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ‘नेप्से–३०’ इन्डेक्स ल्याउने तयारी गरेको छ। 

नेप्सेले नीतिगत, संस्थागत तथा प्रविधिमार्फत पुँजीबजारको विकास गरी लगानीकर्तालाई आधुनिक दोस्रो बजार कारोबार सुविधा उपलब्ध गराउँदै आएको र थप सुदृढ बनाउन ‘नेप्से–३०’ इन्डेक्स ल्याउने तयारी गरेको हो। बजारमा तत्काल कारोबारयोग्य सेयरहरुलाई समावेश गरी बजारपुँजीकरणमा आधारित सूचकांकका रुपमा यो इन्डेक्स तर्जुमा हुने पनि नेप्सेले जनाएको छ।

‘नेप्से–३०’ सञ्चालनमा ल्याउनुअघि नेप्सेले सूचीकृत संगठित संस्था छनोटका आधार तथा इन्डेक्स गणना विधिमा आफ्नो राय–सुझाव पठाउन सरोकारवालासँग आग्रह गरेको छ। नेप्सेले जेठ ५ गतेभित्र चभकभबचअज२लभउबकितयअप।अयm।लउमा राय–सुझाव उपलब्ध गराउन आग्रह गरेको छ।

नेप्सेले प्रतिसेयर चुक्ता मूल्यभन्दा प्रतिसेयर किताबी मूल्य बढी भएको, पछिल्लो तीन आर्थिक वर्ष ३ वर्ष खुद नाफामा रहेको, अघिल्लो आर्थिक वर्षमा प्रतिसेयर आम्दानी चुक्ता मूल्यको न्यूनतम १० प्रतिशत रहेको र त्यही वर्षमो मूल्यवृद्धि दरभन्दा बढी भएका कम्पनीहरुलाई यो इन्डेक्स तयार गर्दा राखिने प्रस्ताव गरेको छ। 

यसैगरी कम्पनीको कम्तीमा २५ प्रतिशत सेयर सर्वसाधारणमा जारी भएको वा सर्वसाधारणले सजिलै किनबेच गर्न सक्ने सेयरहरु (फ्री–फ्लोट)को कुल बजार पुँजीकरणमा यो इन्डेक्समा राखिने कम्पनीको यस्तै सेयरहरुको बजार पुँजीकरण एक प्रतिशतभन्दा बढी हुनुपर्ने व्यवस्था गर्न लागिएको छ। 

फ्री–फ्लोट बजारपुँजीकरण लिइँदा २०७९ पुस ३० गतेलाई आधार लिइने भएको छ। ती कम्पनीमा सेयरधनीको संख्या कम्तीमा २० हजार हुनुपर्ने व्यवस्था गर्न लागेको हो। 

पछिल्लो ६ महिनाको अवधिमा दैनिक औसत २५ लाख रुपैयाँ वा सोभन्दा बढी रकमको कारोबार भएको, दैनिक औसत ५ हजार कित्ता वा सोभन्दा बढी कित्ताको कारोबार भएको र दैनिक औसत ४० वा सोभन्दा बढी पटक कारोबार भएको कम्पनी यो इन्डेक्समा राख्न योग्य हुने व्यवस्था नेप्सेले गरेको छ। 

पछिल्लो ६ महिनाको अवधिमा उपलब्ध कारोबार दिनहरुमध्ये न्यूनतम ७५ प्रतिशत दिनहरुमा कारोबार भएका कम्पनीलाई यो इन्डेक्समा राखिने नेप्सेले जनाएको छ। 

यस्तो इन्डेक्स तयार पार्दा माथि उल्लेखित छनोट विधिअनुसार आएका कम्पनीको फ्री–फ्लोट बजार पुँजीकरण, पछिल्लो वर्षको प्रतिसेयर आम्दानी, कारोबार रकम, कारोबार संख्या तथा कारोबार कित्ताका आधारमा प्रत्येकलाई निश्चित भार दिएर कुल भार गणना गरिने भएको छ। यसरी कम्पनी छान्दा हाल नेप्सेमा रहेका ६ वटा समूहगत परिसूचकबाट प्रत्येक समूहमा उच्च भार प्राप्त गर्ने ८–८ वटा कम्पनी छानिनेछन्। 

समूहगत परिसूचकमा सूचीकृत कम्पनीको संख्या ८ भन्दा कम भएमा विधि अनुसार उपलब्ध सबै कम्पनीलाई यो इन्डेक्समा समावेश गरिने व्यवस्था नेप्सेले गरेको छ। 

यसरी छनोट भएका कम्पनीको कुल संख्या ३० भन्दा बढी भएमा कम भार पाउने कम्पनीहरुलाई यो इन्डेक्सको गणनाबाट हटाइनेछ। तर, यसरी हटाउँदा पनि हरेक ६ समूहबाट भने कम्तिमा एक कम्पनी राख्ने नीति नेप्सेले लिएको छ। 

छानिएका कम्पनीको संख्या ३० भन्दा कम भएमा भने प्रत्येक समूहबाट ८ भन्दा बढी कम्पनी छनौट नहुने देखिएमा सबै कम्पनीको कुल भार गणना गर्ने र उच्चतम भार प्राप्त गर्ने कम्पनी थप गरी कम्पनीको संख्या ३० पुर्याइने व्यवस्था नेप्सेले गरेको छ। 

नेप्से–३० इन्डेक्समा रहेका कम्पनीहरु हरेक वर्ष २ पटक पुनर्मूल्यांकन हुनेछन्। हरेक वर्ष भदौ र फागुनको अन्तिम शुक्रबार यसरी पुनरमूल्यांकन गरेर कम्पनी परिर्वतन गरिने नेप्सेले जनाएको छ।