काठमाण्डौ । ‘नेप्से बुल्स’ ह्विस्की उत्पादन गर्ने सागर डिस्टिलरी लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ ल्याउने तयारी गरेको छ। 

कम्पनीले प्रिमियममा आईपीओ ल्याउने विशेष प्रस्ताव आफ्नो प्रथम वार्षिक साधारणसभामार्फत अनुमोदन गर्न लागेको हो। यसका लागि वार्षिक साधारणसभा आउँदो मंसिर १५ गते डाकिएको छ। सभा कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ९ बजेबाट सुरु हुनेछ। 

सभाले नयाँ सञ्चालक समिति गठन गर्नुका साथै स्वतन्त्र सञ्चालकको नियुक्ति पनि अनुमोदन गर्नेछ। सभाले आर्थिक वर्ष २०७९–८०को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि पारित गर्नेछ।

सागर डिस्टिलरीले जारी पुँजीको १५ प्रतिशतले हुने ७ लाख ५० हजार कित्ता सेयर जारी गर्ने तयारी गरेको छ। 

यसअघि कम्पनीले अंकित मूल्यमा आईपीओ ल्याउने तयार िगरेको थियो। जसअनुसार बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई कम्पनीले नियुक्त गरेको थियो। 

नवलपुरको देवचुलीमा उद्योग रहेको यो कम्पनी २०६९ सालमा स्थापना भएको हो। यसले रोयल ब्लु, बेरिज एन्ड ब्लुजजस्ता ब्रान्डका मदिरा उत्पादन गरिरहेको छ।