काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडका डेपुटी सीइओ तथा विश्लेषक गणेशराज पोखरेलले सेयर बजारको अहिलेको गिरावट प्राकृतिक रहेको उल्लेख गर्दै बजारको दर समेत ठीक ठाउँमा आएको दाबी गरेका छन् । 

बिजशालालाई विशेष अन्तरर्वार्ता दिने क्रममा विश्लेषक पोखरेलले यस्तो दाबी गरेका हुन् । 

‘ओभरअल मार्केटको कुरा गर्दा अहिलेको अवस्था प्राकृतिक हो कि जस्तो लाग्छ ।’ उनले भने–‘जसले धेरै बढ्ने प्रक्षेपणसहित लगानी गरे, उनीहरुलाई धेरै गाह्रो अवस्था भए पनि अहिलेको गिरावट स्वभाविक देखिन्छ ।’ 

उनले बैंक तथा बित्तीय संस्थाले पूँजी बढाउँदा बजारमा सेयरको अधिक आपूर्ति भएको र यसले मागमा प्रभाव पारी बजार निरन्तर घटिरहेको बताए । 

उनले आफ्नै बैंकको उदाहरण दिंदै अहिलेको प्रतिकित्ता २७० रुपैयाँको मूल्य स्वभाविक र प्राकृतिक रहेको थप प्रष्ट्याए । ‘हामीले लगानीकर्तालाई दिने रिटर्न १५ प्रतिशतको हाराहारीमा हो, हाम्रो रिटर्नक्षमता अनुसार २७० रुपैयाँ मूल्य काय हुनुु भनेको बजारले हामीलाई न्याय नै गरेको रुपमा बुुझेका छौ ।’–उनले भने । 

वार्षिक ४५ प्रतिशतसम्म नगद लाभांश दिने बैंकलाई हेर्दा पनि त्यसको सेयर प्रतिकित्ता ४०० रुपैयाँ हालेर खरीद गर्नु स्वभाविक हुने, तर १००० हाल्नुु त्यो अस्वभाविक हुने उनको तर्क छ । ‘लगानीकर्ताले बैंकहरुको मुद्धती बचमा पैसा राख्दै पनि ११ प्रतिशत रिटर्न पाइराख्नुुभएको छ, यो भनेको १०० रुपैयाँ राख्दा ११ रुपैयाँ ब्याज आउने भन्ने हो ।’ उनले भने–‘यसकारण ४४ प्रतिशतसम्म रिटर्न दिने बैंकको सेयर प्रतिकित्ता ४०० सय रुपैयाँसम्म पाइयो भने बैंकको ब्याजसँग म्याच भयो, त्यसैलाई १००० रुपैयाँ तिर्दा त म्याच भएन नि, त्यो अस्वभाविक भयो, बजारमा हिजो यही भयो ।’ 

उनले पूँजी वृद्धिको बाध्यता नरहेकोले आगामी दिनमा बैंक तथा बित्तीय संस्थाहरुले धेरै बोनस सेयर पनि नदिने, पूँजीको साइज राष्ट्रबैंकले तोकेअनुसार बढिसकेकोले त्यसअनुसार पर्याप्त नाफा कमाई बैंकहरुले अधिक रिटर्न दिने अवस्था पनि नरहेकोले बजारमा धेरै ठूलो बढोत्तरीको आशा गर्न नसकिने उनको तर्क छ । ‘२०–२५ प्रतिशतको उतारचढावलाई स्वभाविक मानिन्छ ।’ उनले भने–‘तर योभन्दा ठूलो घटबढको कुनै संभावना देखेको छैन ।’ 

कुनै पनि कम्पनीमा लगानी गर्नुअघि लगानीकर्ताले त्यसबाट हुने रिटर्न समेत हेर्न थालेको र सोही अनुसार बजारमा स्वभाविक गतिविधि भइरहेको उनले प्रष्ट्याए । ‘तर, भोलिको दिनमा फेरि क्यापिटलको साइज बढ्ने भयो, राम्रो बोनस इस्यू हुने संभावना देखियो भने राम्रो रिटर्नको आशामा लगानीकर्ताले बढी सेयर खरीद गर्लान्, त्यसपछि बजारले स्वभाविक बढोत्तरीको बाटो समाउला ।’ उनले भने–‘तर अहिलेको अवस्थामा बजार उपयुक्त साइजमा आएको छ, धेरै बढ्दैन।’ 

पछिल्लो कालमा लगानीकर्ता समेत सचेत भएका उल्लेख गर्दै उनीहरुले नाफा नोक्सानसँग आफ्नो लगानीलाई जोडेर हेर्न सिकेका र कुरा बुुझेका कारण समेत हल्लाको भर र बिनाकारण बजार नबढेको उनको जिकिर छ । ‘लोनेबल फण्ड छैन, मार्जिन लेण्डिङमा सिलिङका कुरा आए, बजारले सबै कुरा बुुझ्यो ।’ उनले थपे–‘अब बजार स्थिर र प्राकृतिक हुन्छ । लगानीकर्ताहरु धेरै ठगिने अवस्था पनि आउँदैन ।’ 

प्राथमिक बजारमा आएका सेयरहरुमा ६ गुणा बढीसम्म खरीद चाप देखिँदा दोश्रो बजार भने निरन्तर घट्नुुले समेत दोश्रो बजारको आकर्षण घटेको प्रमाणित हुने दाबी गर्दै उनले भने–‘मेरो विश्लेषणमा बजार अब धेरै बढ्दैन, लगानीकर्ताले सम्हालिएर र जोगिएर हिँड्नुु नै हितकर होला।’ 

(पोखरेलसँगको पूर्ण अन्तर्वार्ताका लागि बिजशाला डटकम भिजिट गर्दै गर्नुहोला । )