काठमाण्डौ । नेपाली पूँजीबजारका भेटेरान लगानीकर्ता तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य अम्बिकाप्रसाद पौडेलले अघिल्ला वर्षहरुको तुलनामा यो पटकको बजेट ‘सुखद’ रहेको प्रतिक्रिया दिएका छन् । 

यसअघिका वर्षहरुमा प्रस्तुत हुने बजेटमा पूँजीबजारका थोरै मात्र विषयहरु समेटिने गरेकोमा यसपटक धेरै विषय समेटिएको र यसले पूँजीबजारलाई दीर्घकालमा फाइदै गर्ने उनको टिप्पणी छ । 

बजेटमार्फत भएका व्यवस्थाले रियल सेक्टरका कम्पनीहरुलाई सर्वसाधारणमा सेयर जारी गरी पूँजीबजारमा आउनुपर्ने बाध्यात्मक अवस्था सिर्जना गरिदिएको उनले बताए । 

‘जस्तो १ अर्ब बढी चुक्तापूँजी भएका र ५ अर्ब बढी कारोबार भएका प्राकृतिक स्रोत साधन उपयोग गर्ने कम्पनीहरु पब्लिकमा जानुपर्ने नियम आएको छ ।’ उनले थपे–‘यसले पूँजीबजारलाई केही हदसम्म सपोर्ट नै गर्छ। रियल सेक्टरका कम्पनीहरु सेयर बजारमा आउनका लागि बाध्यकारी व्यवस्था गर्नु राम्रो पक्ष हो ।’ 

यो व्यवस्थापछि ठूला खानीजन्य उद्योग, सिमेन्ट उद्योग तथा सरकारी अनुदान तथा सहुलियत प्राप्त गर्ने रियल सेक्टरका कम्पनी समेत पूँजीबजारमा आउनुपर्ने अवस्था बनेको उनको भनाई छ । 

‘यो व्यवस्थाका कारण ठूला हाइडोपावर कम्पनी, दूरसंचार कम्पनी पनि बजारमा आउनुपर्ने हुन्छ ।’ उनले थपे–‘बजेटले वैदेशिक रोजगारीमा रहनेलाई आइपीओमा १० प्रतिशत आरक्षणको व्यवस्था, एनआरएनलाई छिटोभन्दा छिटो बजारमा प्रवेश गर्ने बाटो खुल्ला गर्ने व्यवस्था लगायतका विषयलाई सकारात्मक रुपमा हेर्नुपर्ने हुन्छ ।’ 

कर लगायतका विषयमा भएको व्यवस्थाका लागि आर्थिक विधेयकको प्रतिक्षा गर्नुपर्ने उनको भनाई छ ।