काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) का महासचिव तेन्जिन लेक्फेलले शिष्टाचार भेट गरेका छन्।
मन्त्रालयमा आज भएको भेटमा मन्त्री भुसाल र लेक्फेलबीच बिमस्टेकको विविध विषयमा छलफल भएको हो। छलफलमा महासचिव लेक्फेलले बिमस्टेक सम्मेलनले पारित गरेका ऊर्जा क्षेत्रका मुद्दालाई अगाडि बढाउने विषयमा सबै सदस्य राष्ट्रहरु सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए। उनले सन् २०१८ मा सम्झौता भएको ऊर्जासम्बन्धी गुरुयोजनाका विषयलाई प्राथमिकताका साथ अगाडि बढाउँदा सदस्य राष्ट्रलाई फाइदा हुने भएकाले त्यसतर्फ नेपाल सरकारको ध्यान जानुपर्ने बताए।
लेक्फेलले भारतको ब्याङ्लोरमा स्थापना गर्ने भनिएको ‘इनर्जी सेन्टर’ स्थापना गरेर बिमस्टेककै ऊर्जासम्बन्धी माथिल्लो निकाय स्थापना गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताए।
जवाफमा मन्त्री भुसालले बिमस्टेकस्तरीय जलविद्युत् प्रयोग र प्रर्वद्धनका विषय अन्तरसम्बन्धित रहेको उल्लेख गर्दै त्यसका लागि नेपालका तर्फबाट खेल्नुपर्ने भूमिका निर्वाह गर्न आफू तयार रहेको स्पष्ट पारिन्। ‘जलविद्युत क्षेत्र नेपालका लागि महत्वपूर्ण छ’, उनले भने, ‘ऊर्जामन्त्रीस्तरीय बैठक उपयुक्त समयमा तोक्ने छौँ।’
‘सबै सदस्य मुलुकका लागि उपयुक्त हुनेगरी नेपालले मिति तोक्छ, त्यसका लागि हामी फोकल पर्सन तोकेर काम अगाडि बढाउँछौँ’, भुसालले भनिन्।
सन् २०१० मा भएको मन्त्रीस्तरीय बैठकले नेपालले ऊर्जामन्त्रीस्तरीय बैठकको आयोजना गर्ने जिम्मेवारी पाएको थियो।
बिमस्टेकको पाँचौ शिखर सम्मेलन आगामी ३० मार्च २०२२ मा श्रीलंकामा आयोजना गर्ने प्रस्ताव भएको सन्दर्भमा बिमस्टेकका महासचिव लेक्फेल नेपाल भ्रमणमा आएका हुन । भेटमा मन्त्रालयका सहसचिवहरु मधुप्रसाद भेटुवाल र मधुकरप्रसाद राजभण्डारीको सहभागी थिए।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago