काठमाण्डौ । अगुवा सेयर लगानीकर्ताहरुले पूँजीबजारमा ठूलो र गम्भीर चलखेल भइरहेको भन्दै त्यसलाई रोक्न सरकारले हस्तक्षेप गर्नुपर्ने माग गरेका छन् ।
उनीहरुले नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र नेपाल राष्ट्रबैंक समेतको सहभागितामा लगानीकर्ताको हितमाथि तुषारापात गर्दै बैंकहरुलाई ब्रोकरको लाइसेन्स दिने प्रक्रियालाई धरापमा पारिएको दाबी गरेका हुन् ।
बैंकलाई ब्रोकर लाइसेन्स नदिनका लागि निकै ठूलो खेल भइरहेको छ यहाँ । अगुवा लगानीकर्ता छोटेलाल रौनियारले बुधबार नेपाल स्टक एक्सचेञ्जमा भएको प्रदर्शनमा सहभागीहरुलाई सम्बोधन गर्दै भने–‘नेप्से र सेबनसँगै राष्ट्रबैंकका एक खालका अधिकारीहरु समेत यो चलखेलमा छन् ।’
उनले पूँजबजार तथा बैंक सम्बन्धी ऐन कानूनलाई निश्चित दलालको प्रभावमा परेर नियामक निकायमा रहेका अधिकारीहरुले अपव्याख्या गरी लगानीकर्तालाई निरुत्साहित र कमिसनखोरहरुलाई प्रोत्साहित गर्ने काम गरेका दाबी गरे । ‘कमिसनको खेलकै कारण यी तीनवटै निकाय पारदर्शी प्रणाली ल्याउनै चाहदैन ।’ उनले भने–‘पारदर्शी भयो भने यी सबैको कमिसन गुम्छ, त्यही भएर यो काम हुन नदिन उनीहरुको ठूलो दौडधूप चलेको छ ।’
उनले लगानीकर्ताको पैसामा ब्रोकर र नियामक निकायका अधिकारीहरुको हालीमुुहाली चलेको आरोप लगाउँदै वाणिज्य बैंकहरुलाई ब्रोकरको लाइसेन्स नदिई बजारलाई पूर्ण स्वचालित अनलाइन प्रणालीमा लैजान संभव नै नभएको दाबी गरे । ‘यहाँ हाम्रा मागलाई पूरा गराउने बिषयमा बहानाबाजी गरिँदैछ ।’ उनले भने–‘बजारको सिण्डिकेट र केही दलालहरुको कार्टेलिंग नतोडेसम्म यो आन्दोलन रोकिदैन ।’
सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले पूँजीबजार धराशायी भइसक्दा समेत नियामक निकाय कानमा तेल हालेर बसेकोले बाध्य भएर आन्दोलनमा उत्रिनुु परेको प्रष्ट्याए । उनले नेप्से र धितोपत्र बोर्डका जिम्मेवार अधिकारी एकअर्काबीच लड्ने गरेका र यसले लगानीकर्ताको हित प्राथमिकतामा नपरेको आरोप लगाए । ‘बजारको बिस्तार भएर स्वचालित प्रणालीमा गए अहिलेको तीव्र चलखेल बन्द हुने थियो ।’ उनले भन–‘निश्चित व्यक्ति वा समूहले चाहँदा बजार घट्ने र बढ्ने खेल समेत बन्द हुने थियो ।’
उनले अहिलेको व्यवस्थाअनुसार बोनस, हकप्रद र सार्वजनिक निश्कासनबाट प्राप्त सेयर ६ महिनासम्म पनि सम्बन्धित धनीको खातामा नपुुग्ने गरेको दृष्टान्त दिंदै यस्तो प्रणालीमा समेत सुधार हुनुपर्ने माग गरे ।
कुर्सी र शक्तिमा बसेकाले जे पायो त्यही बोलेका आरोप लगाउँदै चेतावनीको शैलमा उनले भने –‘के अब हामीले भिड्नै पर्ने भयो ? लड्नै पर्ने भयो ??’
उनले आफूहरुले आन्दोलन थालेर बजार बढाउन भनी भीख नमागेको प्रष्ट्याउँदै भने –‘यो गलत सिस्टमविरुद्ध हामी आज प्रदर्शनमा उत्रिएका हौ ।’
उनले सेयर लगानीकर्ताको लगानीबाट कमिसन काटेर दलाल बाँच्ने, नेप्सेका अधिकारीको चूूलो बल्ने, तर लगानीकर्ता डूबिरहँदा उनीहरु चाहि रमिते बनिरहेका आरोप लगाए ।
उनले आफूहरु दलालमार्फत कारोबारमा जाँदा ठगिएको र दक्षिण एशियाकै चर्को कमिसन तिर्नुु परेको दाबी गर्दै भने–‘हामी लगानीकर्ताले आफूूलाई चाहिएको सेयर आफैंले किन्छौ र बेच्छौ भन्न किन नपाउने ? यसका लागि हामीलाई शीघ्र अनलाइन प्रणाली चाहियो ।’
उनले नियामक निकायले सेयर बजारलाई जूवाघरजस्तै बनाउन खोजेको आरोप लगाउँदै भन–‘तर हामी चाहि यसलाई उद्योगको रुपमा विकास गर्न खोजिरहेका छौ । पूँजीबजार क्यासिनो होइन ।’ नियामकहरु कुुर्सीको लडाईमा अल्झिए लगानीकर्ताहरु अब चूप लागेर नबस्ने उनले उद्घोष गरे ।
सेयर लगानीकर्ता संघको आह्वानमा बुधबार सयौं लगानीकर्ताहरुले नेपाल स्टक एक्सचेञ्जमा २ घण्टा धर्ना तथा प्रदर्शन गरेका थिए ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago