भक्तपुर । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले बैंक तथा वित्तीय संस्थामा बढ्दो ऋणको ब्याजदरले उद्योगी, व्यापारी तथा व्यवसायी चरम मारमा परेका बताएका छन्।
भक्तपुर उद्योग वाणिज्य संघद्वारा बुधबार आयोजित अन्तर्क्रियामा उपाध्यक्ष श्रेष्ठले उद्योगीव्यवसायीलाई आफ्नो व्यापार–व्यवसायको आम्दानीबाट बैंक ब्याज तिर्नसमेत हम्मेहम्मे परेको बताए। ‘कतिपय उद्योगीव्यवसायीहरु पलायन हुने अवस्थामा पुगेका छन्’, उनले भने, ‘ब्याजदरको सन्दर्भमा महासंघले बैंकहरुसँग चाँडै नै छलफल गरी समस्या समाधान गर्नेछ।’
नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष सकुन्तलाल हिराचनले उद्योगी, व्यापारी र व्यवसायीहरुको पक्षमा हुने हरेक क्रियाकलापमा सहकार्य गर्न महासंघ तयार रहेको बताए। उद्योगी, व्यापारी र व्यवसायीहरुको आर्थिक विकासका लागि क्षमता अभिवृद्धि हुने कार्यक्रम संघहरुले निरन्तर सञ्चालन गरिरहनुपर्ने उनको भनाइ थियो।
नेपाल उद्योग वाणिज्य महासंघको बागमती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठले जिल्लास्थित उद्योग वाणिज्य संघहरुले महिला उद्यम, कृषि उद्यम एवं रोजगारमूलक तालिम सञ्चालन गर्नुपर्नेमा जोड दिए। उद्योगी, व्यापारी, व्यवसायीहरु र संघको सम्बन्ध जीवन्त बनाउन उनीहरुको हकहितको उत्थानका लागि महासंघ सदैव तत्पर रहनुपर्नेमा उनले जोड दिए।
कृषि उद्यम केन्द्रका सभापति अरुण सुगार्मीले परम्परागत कृषि प्रणालीलाई छोडेर आधुनिक कृषितर्फ विशेष जोड दिन आग्रह गरे। उनले कृषि क्षेत्रमा लागेका व्यवसायीले आफ्नो आर्थिक विकास गर्न प्रविधिमैत्री र एकीकृत कृषितर्फ ध्यान दिनुपर्ने बताए। नेपाल उद्योग वाणिज्य महासंघले पनि कृषि उद्यममा विकास गर्न विशेष बजेट छुट्याएर कार्यक्रम गरिरहेको उनले जानकारी दिए।
भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले उपत्यकाका उद्योग वाणिज्य संघहरुबीच प्रगाढ सम्बन्ध रहनुपर्ने भन्दै व्यापारी व्यवसायीहरुको हकहितका लागि संघहस्बीच पनि समन्वय आवश्यक रहेको बताए। नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी भक्तपुर उद्योग वाणिज्य संघले सरोकारवाला पक्षसँग समन्वय गरी अनुगमन कार्य गरिरहेको उनले जानकारी दिए।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19