काठमाण्डौ । नेपाल इन्भेष्टर्स फोरमले आफ्ना उपाध्यक्ष छोटेलाल रौनियारलाई निकै चतुर ढंगले बचाउँदै सार्वजनिक ठाउँमा ब्रोकरहरुलाई ‘चोर’ भनिनुलाई माहौलवश हुन गएको त्रुटि भन्दै दुःख प्रकट गरेको छ । 

स्टक ब्रोकर एशोसिएसनले मंसिर ११ गते फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले नेप्सेमा मंसिर १० गते भएको प्रदर्शन र विरोधको क्रममा भाषण दिने क्रममा ब्रोकरहरु ‘चोर’ हुन भन्दै गालीगलौज गरेको बिषयमा असन्तुष्टि व्यक्त गर्दै प्रष्टीकरणका लागि लिखित आग्रह गरेको थियो । 

एशोसिएसनले गरेको आग्रहको ९ दिनपछि मंसिर २० गते पत्र पठाउँदै फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले फोरम लगायतका संगठनले नेप्सेमा आयोजना गरेको कार्यक्रममा बोलिएको बिषयमा त्यस एशोसिएसनलाई असर पुग्ने शब्द चयन हुन गएको भन्दै भनेका छन्–‘सो कार्यक्रममा चयन भएका शब्द नियोजित नभई उत्तेजित माहौलका कारण भएको अवगत गराउन चाहन्छौ ।’ 

स्पष्टीकरणपत्रमा ब्रोकरलाई गाली बेइज्जत गर्ने आफूहरुको उद्देश्य नरहेको र माहौलवश आफूहरुबाट त्रुटि भएको समेत स्वीकार गरिएको छ । आफूहरु यो विषयमा गम्भीर भएको भन्दै पौडेलले पूँजीबजारको विकास र बिस्तारमा साथै मिलेर लाग्नुपर्ने बिषयमा समेत प्रतिबद्धता जनाएका छन् । पत्रमा छोटेलाल रौनियारको नाम कहीँ कतै उल्लेख छैन । 

यी समाचारहरु पनि पढ्नु भो ?

-छोटेलालले ब्रोकरलाई ‘चोर’ भनेको विषयमा कानूनी उपचार खोज्ने तयारी, फोरमले बेवास्ता गरेको आरोप

-आफूलाई ‘चोर’ भन्ने छोटेलालप्रति ब्रोकरहरु आगो, फोरमको आधिकारिक धारणा माग

-लगानीकर्ताका नेताले ब्रोकरलाई ‘चोर’ भनेपछि.....(भिडियोसहित)