-अर्जुन तिमिल्सिना 
काठमाण्डौ । सधैंको साताजस्तै यो साता पनि हामीले लगानीकर्ताको विचारलाई सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौं । अघिल्लो साताहरुमा  ब्रोकर हाउसबाट लिएका विचार यो साता हामीले तिहारको लक्ष्मीपूजा परेकोले  सोसल मिडियाबाट  लिएका  छौं । यो साता सामाजिक सञ्जालमा अघिल्लो साता अर्थसमितिले पास गरेको नयाँ स्टक एक्सचेञ्ज चर्चाको शिखरमा रहेको छ । 

अघिल्लो साता  शुक्रबार घाम डुबेर गोधुली साँझ पर्दै थियो । सञ्चारमाध्यमहरुमा अर्थसमितिले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया अगाडि बढाउन सहमति दिएको समाचार फैलियो । त्यसपछि सामाजिक सञ्जालमा चर्को बहस छेडियो । पक्ष र विपक्षमा प्रष्ट मत बाँडियो । 

त्यसो त नयाँ स्टक एक्सचेन्जको बारेमा पहिले पनि चर्चा परिचर्चा नभएको होइन । पहिला पनि दुईवटा दीपकबीच नयाँ स्टक एक्सचेञ्जको विषयमा तीब्र लबिङ चलेको ब्रोकर हाउसहरुमा सुनिएकै हो । पुँजीबजारलाई नै आधार बनाएर संसदीय चुनाव जितेका हरि ढकालको मिडियाले समचार हाल्न नभ्याउँदै फेसबुकमा स्टाटस आयो । उनले लेखे–‘नेपालमा प्रतिस्पर्धात्मक पुँजीबजार निर्माण गर्न नयाँ स्टक एक्सचेञ्ज आबश्यक छ, तर नेपालमा रहेको एकमात्र  नेप्सेको पुनरसंरचना नगरिकन नयाँ स्टक ल्याइनु आपत्तिजनक छ । दीपावली चाँडको माहौलमा मानिस भूल्ने मौका छोपी दीपावलीको बिदा हुने अन्तिम दिन ७ बजेको समयमा समितिको बैठक डाकी विवादास्पद स्टक एक्सचेञ्जको लाइसेन्स दिने काम किन अगाडि बढाइयो ? यसको जबाफ नेपाली जनताले माग्ने छन् । बजारमा ६ अर्बको डील हुँदैछ भनेर सुनिएको छ ।’ 

उनको स्टाटसमा पनि पक्ष र विपक्षमा प्रष्ट मत बाँझिएको छ । भानुभक्त गौतम नयाँ स्टक एक्सचेञ्जको पक्षमा लेख्छन्,‘यो  प्रतिस्पर्धात्मक बजारउन्मुख नीति होइन ?’ 

ढकालकै स्टाटसमा प्रतिक्रिया जनाउँदै नबराज दाहाल लेख्छन्–‘यदि लेखिएको कुरा सत्य हो भने यो प्रक्रिया तत्काल रोकेर दोषीलाई कारबाही गर्नुपर्छ । 

यसै विषयमा ओमकृष्ण श्रेष्ठले नेपाल टेलिकमसँग एनसेलको तुलना गर्दै भन्छन्–‘०६३ सालभन्दा पहिले एनटीसीको सीम लिन कति मुश्किल थियो ? बल्ल सहज भएको छ । प्रतिस्पर्धाले राम्रै हुन्छ, तर ६ अर्बको खेल हो भने तपाईँ अगाडि बढ्नुहोस्, हामी सडकबाट साथ दिन तयार छौं । 

केशब कोइरालाले पनि  ढकाललाई नै सर्मथन गर्दै लेख्छन्–‘माफियाविरुद्ध  जाग्नुहोस्, हामी साथ दिन तयार छौं ।’ 

फेसबुकमा  सुजन अर्याल लेख्छन्–‘स्टक एक्सचेञ्जजस्तो सम्वेदनशील कुरा निजी क्षेत्रलाई दिनु भनेको राष्ट्रबैंक निजी क्षेत्रलाई दिनु जस्तै हो । नेप्सेलाईलाई नै सुधार गरेर प्रविधिको उच्चतम प्रयोग गर्नु पर्छ ।’ 

फेसबुकमा नेप्से बुल बियर नामका प्रयोगकर्ता लेख्छन्–‘भारतजस्तो देशमा २ वटा स्टक एक्सचेञ्ज भए पुग्ने, हामीकोमा भएको स्टक एक्सचेञ्जलाई अर्थमन्त्रालयको घर्रामा थन्काएर नयाँ किन चाहियो ? कुनै समय थियो बैंकहरुको लाइसेन्स बाँड्यो कमिसन खायो, इन्सुरेन्स कम्पनी र माइक्रोफाइनान्सको लाइसेन्स बाँड्यो कमिसन नै खायो, ब्रोकर लाईसेन्स बाँड्यो कमिसन नै खायो । अब नयाँ स्टक एक्सचेञ्ज बाँड्यो कमिसन नै खायो । सरकारमा बस्नेहरुले कमिसन नै खाने, कोठाभरि पैसा थुपार्ने ?’ उनलाई नै समर्थन गर्दै एक लगानीकर्ताले तिहारको माहौलमा ब्यङ्ग्य कस्दै लेखेका छन्–‘भैलेनी आइन अर्थ मन्त्रालयको आँगन, कमिसन बुझाएर नयाँ स्टक एक्सचेञ्ज माग न ।’