काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत महशुल तिर्न बाँकी रहेका अन्य उद्योगहरुको पनि लाइन काटिने बताएका छन् ।

विद्युत महशुल विवादबारे आज आयोजित पत्रकार सम्मेलनमा घिसिङले विद्युत बक्यौता तिर्न बाँकी रहेका अन्य उद्योगहरुको पनि लाइन क्रमशःकाटिदै जाने बताएका हुन् । 

‘डेडिकेटेड तथा ट्रंक लाईनबाट विद्युत उपभोग गरेको कुल ६१ वटा उपभोक्ताहरुको २०८० मंसीर मसान्तसम्म कुल बक्यौता रकम २२ अर्व २४ करोड रुपैयाँ रहेको छ ।

यसमध्ये करिब १२ अर्ब ५० करोड रुपैयाँ बराबरको बक्यौता हालै लाइन बिच्छेद गरिएका ९ वटा ठूला उद्योगहरुको रहेको छ । बक्यौता रहेका अन्य उद्योगहरुको लाइन क्रमशः विच्छेद गर्दै जाने रणनीतिमा प्राधिकरण रहेको छ ।’कुलमान भने । 

विगतमा लोडसेडिङको अवस्थामा प्राधिकरणको विद्युत प्रणालीमा निरन्तर विद्युत आपूर्ति  हुने डेडिकेटेड फिडर र ट्रंक लाइन  एक सवस्टेसनबाट अर्को सवस्टेशन जोड्ने लाइन

 बाट विद्युत आपूर्ति लिने औद्योगिक, व्यापारिक र गैह्र व्यापारिक वर्गका ग्राहकरुलाई प्रिमियमसहितको विद्युत महसुल भुक्तानीका लागि पटक पटक ताकेता एवम् सार्वजनिक सूचनामार्फत अनुरोध गरिएको  र उक्त अनुरोधलाई बेवास्ता गर्दै महसुल बुझाउन अस्वीकार गरेपछि २०८० पुस ६ गतेबाट विद्युत लाइन बिच्छेद गर्न सुरु गरिएको बताए । 

यसअघि विद्युत प्राधिकरणले ट्रंक र डेडिकेटेड लाइन प्रयोग गरेबापतको विद्युत महसुलको बक्यौता र जरीवाना नतिरेको भन्दै सर्वोत्तम सिमेन्ट, लक्ष्मी स्टिल, अशोक स्टिल, सोनापुर मिनरल्स एण्ड आयल प्रालि, त्रिवेणी स्पिनिङ मिल्सको जगदम्बा स्टिल, घोराही सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स र अर्घाखाँची सिमेन्टको लाइन काटेको थियो ।