काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले वार्षिक १० करोडसम्म बिजुली प्रयोग गर्ने उद्योगले मात्र महसुलमा २ प्रतिशतदेखि १५ प्रतिशतसम्म छुट पाउने आगामी आर्थिक वर्षको बजेटमा व्यवस्था गरिएको स्पष्ट पारेका छन्।

संघीय संसदमा आइतबार पेस गरिएको आगामी आर्थिक वर्षको बजेटका विषयमा थप प्रस्ट पार्न अर्थ मन्त्रालयका सोमबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले यस्तो स्पष्टोक्ति दिएका हुन्।

हिजो पेस गरिएको बजेटमा भने सरकारले मासिक १० करोडसम्म बिजुली प्रयोग गर्ने उद्योगलाई महसुलमा २ प्रतिशतदेखि १५ प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको थियो। ‘बजेट टाइप गर्दा त्रुटि भएको हो’, शर्माले भने, ‘वार्षिक हुनुपर्ने ठाउँमा मासिक भएको रहेछ। वार्षिक १० करोडसम्म बिजुली प्रयोग गर्ने उद्योगलाई महसुलमा २ प्रतिशतदेखि १५ प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको हो।’

नेपाली उत्पादन बढाउन र स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न त्यस्ता उद्योगहरुलाई महसुलमा २ प्रतिशतदेखि १५ प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको अर्थमन्त्री शर्माले जानकारी दिए। 

नेपालमै उत्पादन सम्भावना भएका उद्योगबाट उत्पादित वस्तुको खपतमा जोड दिइनेछ। आयात प्रतिस्थापन गर्न स्वदेशमा उत्पादन उपभोग र निर्यात सम्भावना भएको कृषि उद्योग र उत्पादनमूलक उद्योगको प्रवर्द्धन गरेर वस्तु उत्पादन र खपत बढाइने नीति आगामी बजेटमार्फत लिइएको छ। 

उत्पादनको सम्भावना भएका कृषिजन्य वस्तु उत्पादन र प्रशोधन गर्दै आयात प्रतिस्थापनमा जोड दिइने भएको हो। 

शर्माले उच्च निर्यात सम्भावना भएका क्लिंकर, सिमेन्ट, फुटवेयर र खानेपानीजस्ता वस्तुको निर्यात प्रवर्द्धन गरिने बताए। यस्ता वस्तुको निर्यातमा ८ प्रतिशतसम्म अनुदान दिने व्यवस्था गरिएको छ।