काठमाण्डौ। अर्थमन्त्री जनार्दन शर्माले आफूसँग भएका स्रोतसाधनहरुको उचित व्यवस्थापन तथा परिचालन गर्न नसक्दा मुलुकले गरिबी व्यहोर्नु परिरहेको बताएका छन्। 

नेकपा (माओवादी केन्द्र) कागेश्वरी मनोहरा नगर समितिद्वारा बिहीबार आयोजित नेपाल सम्वत्, तिहारलगायत पर्वको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले यस्तो धारणा राखेका हुन्। मन्त्री शर्माले गरिबीको अवस्थाबाट मुक्त हुन सरकारमा बस्नेहरुले जनताको शासक नभई सेवकका रुपमा रहेर काम गर्नुपर्ने बताए। ‘पेट्रोलदेखि अरू सबै कुरा नेपालमै छ। तर त्यसको उचित प्रयोग, सञ्चालन, व्यवस्थापन गर्ने कमी कमजोरी र सत्तामा रहेकाहरुले त्यसतर्फ ध्यान नदिँदा आज समाजले गरिबीको अवस्था व्यहोरिरहेको अवस्था छ’, उनले भने, ‘यो गरिबीको अवस्थाबाट मुक्त हुनका लागि अब सरकारमा बस्नेहरु जनताको शासकका रुपमा होइन, सेवकका रुपमा रहनुपर्छ।’

यसैगरी मन्त्री शर्माले मुलुकलाई आत्मनिर्भर बनाउन सरकारले नीति बनाएरमात्र नहुने बताए। ‘मुलुकलाई आत्मनिर्भर बनाउन सरकारको नीति कार्यान्वयनसँगै राष्ट्र निर्माणका लागि हरके नागरिकले संकल्प गर्नुपर्छ’, उनले भने, ‘उत्पादनमुखी अर्थतन्त्र निर्माणका लागि सरकारले नीति बनाएरमात्र हुँदैन, सरकारको नीति कार्यान्वयनका लागि हरेक नागरिकले राष्ट्र निर्माणको संकल्प गर्न आवश्यक छ’, उनले भने, ‘म मेरो देश बनाउँछु, म मेरो देशलाई सम्पन्न गर्छु, गरिबीको अन्त्य गर्न मेरो ठाउँबाट भूमिका खेल्छु भनेर सबैले संकल्प गर्यौँँ र त्योअनुसार देश अगाडि बढ्यो भने हाम्रो गरिबी अन्त्य गर्न धेरै समय लाग्दैन, पाँच वर्ष काफी छ।’

अर्थमन्त्री शर्माले बाँझो रहेका बारीमा वातावरणअनुसार बाली तथा तरकारी लगाउने, फलफूल लगाए त्यस्ता वस्तु आयात गर्नु नपर्नेसमेत दाबी गरे। उनले यस किसिमको अभियान नै चलाउनुपर्नेमा जोड दिए। अभियान निरन्तर गरे प्रत्येक दिन युवा विदेशिनुपर्ने बाध्यताबाट समेत मुक्त हुने उनको भनाइ थियो। 

व्यक्तिको सम्पत्ति नै राष्ट्रको सम्पत्ति भएकाले सामूहिक र एकल श्रमलाई पनि जोड दिएर राष्ट्रिय अभियान चलाउन मन्त्री शर्माले आग्रह गरे। उनले व्यक्ति धनी भए राष्ट्र पनि समृद्ध हुने भन्दै राष्ट्र समृद्ध भए सबै नागरिक समृद्ध हुने बताए। यस किसिमको बहस नभएकाले बहस चलाउनसमेत उनले आग्रह गरे।