काठमाण्डौ । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाबाट ब्याजदर घटाउने र तरलता सहज बनाउने नीति ल्याउन आग्रह गरेका छन्। 

मर्जर प्रक्रिया पूरा गरेका ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डुको आज एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा अध्यक्ष अग्रवालले नेपाल राष्ट्र बैंकसमक्ष यस्तो आग्रह गरेका हुन्। 

‘नयाँ सरकारको पहिलो प्राथमिकता अर्थतन्त्र सुधार गर्नु रहेको छ, त्यसैले सरकारले अर्थतन्त्र सुधारका लागि आवश्यक कदम चाल्नेमा हामी विश्वस्त छौँ’, उनले भने, ‘यसका लागि मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाबाट ब्याजदर घटाउने र तरलता सहज बनाउने नीति आउनेमा हामी आशावादी छौँ।’ 

बैंक ब्याजदरमा केही घटाउन सके उद्योगी–व्यवसायीको मनोबल बढ्ने अग्रवालको भनाइ थियो। ‘सीडी रेसियो सहज हुँदै गइरहे पनि बैकहरुमा लगानी गर्ने आत्मविश्वास आउन सकेको छैन’, उनले भने, ‘बैंकहरुको आत्मविश्वास बनाउन राष्ट्र बैंकबाट पहल हुनुपर्छ।’