काठमाण्डौ । बजेट बनाउने क्रममा अनधिकृत मानिसहरुलाई मध्यरातमा अर्थमन्त्रालय प्रवेश गराएर करका दरहरुमा चलखेल गरेको गम्भीर आरोप लागेका अर्थमन्त्री जनार्दन शर्माले आज पदबाट राजीनामा दिएका छन् । 

राजीनामा दिनुअघि उनले अर्थमन्त्रीकै हैसियतमा संसद बैठकमा आफ्नो प्रष्टीकरण समेत दिएका थिए । सो क्रममा उनले आफूमाथि लागेका आरोपहरुको सकेसम्म प्रतिवाद गर्ने कोशिश गरे । 

अर्थमन्त्री शर्माले राजीनामा गर्नुअघि सभामुख अग्नी सापकोटाको पहलमा ११ सदस्यीय विशेष संसदीय छानबिन समिति गठन गरिएको थियो । सो समितिमा प्रमुख प्रतिपक्षी दल एमालेका ४ सहित कुल ११ सांसदको सहभागिता छ । यो संसदीय छानबिन समितिले अर्थमन्त्रीमाथि लागेका आरोपहरुको विषयमा सत्यतथ्य पत्ता लगाई १० दिनभित्रमा छानबिन प्रतिवेदन पेश गर्ने म्याण्डेड पाएको छ । 

संसदीय छानबिन समितिलाई सहयोग गर्ने उद्देश्यले आफूले पदबाट राजीनामा दिएको प्रष्टीकरण पेश गरेका अर्थमन्त्री शर्माले सम्बोधनका क्रममा अर्को महत्वपूर्ण विषय पनि भनेका छन् । उनले भनेका छन्–‘सत्यतथ्य छानिबन होस्, त्यसपछि म फेरि कामलाई अगाडि बढाउँछु ।’ 

उनको आशय छानबिनमा आफू निर्दोष सावित हुने र त्यसपछि पुनः अर्थमन्त्रीकै रुपमा आएर काम गर्ने भन्ने देखिन्छ । स्रोतहरुका अनुसार सत्तारुढ दलका शीर्ष नेताहरुबीच भएको सहमतिअनुसार नै छानबिन समिति बनेको हो र सोही अनुसारको अभिव्यक्ति अर्थमन्त्री शर्माले दिएका हुन् । कांग्रेसनिकट स्रोत भन्छ–‘छानबिनपछि पुनः अर्थमन्त्रीको रुपमा शर्मालाई नै ल्याउने शीर्ष तहमा सहमति भएको छ ।’ यसको अर्थ तत्काल अर्थमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हाल्नेछन्, नयाँ अर्थमन्त्री नियुक्त हुने छैनन् । 

तर,समितिमा सदस्य बनेका एमालेका एक सांसद भने अर्थमन्त्रीले बजेट निर्माणका क्रममा धेरै फट्याई गरेका कारण उनी छानबिनबाट निर्दोष सावित हुने सम्भावना कम रहेको र अर्थमन्त्रीकै रुपमा आउने सम्भावना समेत नरहेको दाबी गरे । 

जाँदा जाँदै एमालेमाथि साँधे निशाना
यसैबीच, अर्थमन्त्री शर्माले राजीनामा दिनुअघि गरेको सम्बोधनका क्रममा विगतमा एमाले नेतृत्वको सरकारका अर्थमन्त्रीहरुले लिएका कतिपय नीतिविरुद्ध समेत निशाना साँधे । डा. युवराज खतिवडा अर्थमन्त्री हुँदा बच्चाले खाने दूधको कर तथा भन्सार दर बढाएर निश्चित औद्योगिक घरानालाई फाइदा हुने गरी चकलेटको भन्सार घटाइएको विषय समेत कोट्याए । ‘मैले के गल्ती गरेँ ? बच्चाको दूधको भन्सार बढाएर चकलेटको घटाइँन मैले ।’ व्यङ्ग्य कस्दै उनले भने–‘कुनै स्वार्थ समूहलाई हित हुने गरी राजश्वको दर हेरफेर गरिँन मैले । के गल्ती गरेँ ?’

उनले आफूले बजेट बनाउँदा कुनै त्रुटि नगरेको दाबी गर्दै तोकिएका आधिकारिक व्यक्तिको सहयोग मात्र लिएको पनि सुनाए । ‘अर्थमन्त्रालयका २ सचिव र डिजीलाई नीतिगत निर्देशन गरेको छु । मैले चिन्ने सचिव र डिजी मात्र हो ।’ उनले भनेका छन्–‘मेरो निर्देशनपछि उहाँहरुले रातभर काम गर्नुभएको छ । म मन्त्रालयबाट बजेटको अघिल्लो दिन राति ११ः३० बजे पुल्चोकको मन्त्री क्वार्टरतर्फ लागेको छु । ६ बजे मन्त्रालयमा पुग्दा सचिव जीहरु सोफामै सुतिरहेको देखेको हुँ । अरु कर्मचारीले पनि काम गरिरहेको देखेको हुँ।’ 

उनले घुमाउरो ढङ्गले आफूलाई चोख्याउँदै बजेटमा कुनै गडबडी नै भएको भए पनि त्यसमा सचिव र डिजी नै जिम्मेवार भएका संकेत समेत गरेका छन् । 

यस्तै, उनले एमालेले संसदमा बजेटको अघिल्लो रातको अर्थमन्त्रालयको सीसी टिभी फूटेज मगाउनुपर्ने भनी गरेको मागको विषयमा समेत बोलेका छन् । अर्थमन्त्रालयले सो दिनको सीसी टिभी फूटेज मेटिएको भनी दिएको जानकारीपछि तातेको राजनीतिक बजारलाई सम्बोधन गर्दै शर्माले भने–‘कुन सीसी टिभीको क्षमता कति हुन्छ, मलाई कसरी थाहा हुन्छ ? कुन सीसी टिभी कहिले राखेको, कति पुरानो हो, त्यो म कसरी बुझ्दछु ? जे छ, त्यहीँ छ । म टेक्निकल मान्छे होइन । सीसीटिभी फूटेज डिलिट गर्न जरुरी पनि छैन । त्यस्तो ज्ञान मसँग छँदा पनि छैन । डिलिट गर्यो भनेर भ्रम छर्ने ? यो त पूर्वाग्रहको पराकाष्ठा भएन र ?’ 

उनले एमाले नेतृत्वको सरकारको पालामा खुल्ला गरिएको सुपारी, केराउ, मरिचको तस्करी आफूले बजेटमार्फत बन्द गरिदिएको र त्यसकै रिसइबी साँधिएको दाबी समेत पेश गरे । ‘के तस्करी बन्द गर्नु अनैतिक काम हो ?’ उनले थपे–‘डलर सञ्चिती धेरै नघटोस् भनेर निश्चित क्षमताभन्दा बढीका विद्युतीय गाडीको भन्सार दर बढाइएकै हो।’

सेनेटरी प्याडमा आयात कर हटाएर आफूले महिलाहरुको माग सम्बोधन गरेको समेत उनले तर्क गरेका छन् । तर, यसो गर्दै गर्दा स्वदेशी उद्योग व्यवसायलाई मर्का पर्ने काम आफूले नगरेको उनको दाबी छ । 

उनले बजेटले आन्तरिक उत्पादन र औद्योगिकरणलाई प्रश्रय दिएको पनि दाबी गरे । आयात प्रतिस्थापन र रोजगारी वृद्धिमा बजेट केन्द्रीत रहेको समेत बताए । 

‘बजेटले निर्यात बृद्धिको नयाँ बाटो खोल्नेछ ।’ उनले भने–‘बजेटपछि औद्योगिक क्षेत्र उत्साहित छ । नागरिक स्तरमा खुशी छाएको छ । कर्मचारी वर्ग उत्तिकै खुशी छ ।’ 

उनले आफू जनयुद्ध, जनआन्दोलन लगायतका राजनीतिक संघर्षबाट स्थापित व्यक्तित्व भएको उल्लेख गर्दै नैतिकता र देश तथा जनताप्रतिको इमानदारिता नडगमगिने समेत दाबी गरे । ‘म एउटा संसदीय छानबिन मात्र होइन, यस्ता हजारौं छानबिनका लागि समेत तयार छु ।’ उनले भने–‘मेरो नैतिकता र इमानदारिता हिजो पनि डगमगिन दिइँन, भोलि पनि दिने छैन ।’