– अर्जुन तिमिल्सिना
काठमाण्डौ । पुँजीबजार सुधार र विस्तारका लागि भन्दै लगानीकर्ताहरु केही दिनदेखि आन्दोलनरत छन्।
पुँजीबजार सुधार संघर्ष समिति गठन गरेर लगानीकर्ताहरुले आन्दोलन जारी राखेको छ। संघर्ष समितिका संयोजक तिलक कोइराला बुधबारदेखि ललितपुरको खुमलटारस्थित नेपाल धितोपत्र बोर्डको कार्यालयबाहिर आमरण अनशन सुरु गरेका छन्।
कोइरालाको आमरण अनशनको दोस्रो दिन पनि खुमलटारमा लगानीकर्ताको उपस्थिति बाक्लो देखिन्थ्यो। आफूहरुले उठाए १९ बुँदे मागलाई सरकार र नियामकले बेवास्ता गरेको लगानीकर्ताहरुको आरोप छ।
आज हामीले अनशनस्थलमा उपस्थित केही लगानीकर्तासँग आन्दोलन र सेयर बजारको पछिल्लो अवस्थाबारे कुराकानी गरेका छौँ। उनीहरुको भनाइ जस्ताको तस्तै–
राजन लम्साल (महासचिव, नेपाल इन्भेस्टर्स फोरम)
लगानीकर्ताले गरेका माग कहिल्यै पूरा भएन। नियामक निकायले ध्यानाकर्षण गर्न नै हामीले आन्दोलन गरेका हौँ। आन्दोलनले पनि केही नभएपछि अनशनको बाटो रोजिएको छ। बजार घट्ने र बढ्ने बिषयसँग हाम्रो मागको सन्दर्भ छैन। हाम्रो मुख्य माग ५८ बुँदे र १९बुँदे हुन्। राष्ट्र बैंकले ल्याएको ४–१२ र सीडी रेसियो नीतिप्रति हाम्रो असहमति छ। यसले बिक्रीको दबाब परेको हो। यी समस्या समाधान भए सेयर बजारमा फेरि बहार आउँछ।
एसपी चौलागाईं (लगानीकर्ता)
हामी आन्दोलनमा उत्रनु हाम्रो बाध्यता हो। राज्यका नियामक निकायले आफूअनुकूल नीति ल्याएका छन्। राज्यको अस्थिर नीतिले आतंक भयो। त्यसै कारण हामी अन्तिम र निर्णायक आन्दोलनमा छौँ। अहिले धितोपत्र बोर्ड अध्यक्ष देशमा नै नहुनु पनि त्यति राम्रो भएन। माग पूरा गर्ने वचन दिएका थिए। कुनै पनि माग सम्बोधन भएको छैन। सुझाव समीति बनाएर हामीलाई झुक्काइयो। सुझाव समितिभन्दा पनि लगानीकर्ताको सहभागितामा कार्यान्वयन समिति आवश्याक देखिन्छ। अहिले ५२ लाख लगानीकर्तालाई उपेक्षा गरिएको छ।
सुषमा ढुंगाना (लगानीकर्ता)
हामी लामो समयदेखि आन्दोलनमा छौँ। अहिले हामी बजार घटेका कारण अनसन र आन्दोलनमा उत्रिएका होइनौँ। हामी बजार बढ्दा पनि आन्दोलनमा थियौँ। त्यही बेला पनि हामीले भनेका थियौँ कि बजार बढ्यो भनेर ढुक्क नहुनुुहोस् नियामकले हरियो घाँस हालेको छ। नियमन निकायले नीतिगत सुधार गरोस् भन्ने हाम्रो माग हो। हाम्रो बटम लाइन भनेको १९ बुँदे हो। यी माग पूरा नभएसम्म अनशन र आन्दोलन जारी रहन्छ। जोखिमभारमा परिमार्जन र सेयरलाई घरजग्गा जस्तै मान्यता दिनुपर्छ।
पवित्रा ज्ञावली (लगानीकर्ता)
पुँजी बजार सुधार र विस्तारका लागि रामकुमारी झाँक्रीको नेतृत्वमा समीति बनेको थियो। त्यसले पनि केही भएन। यो तरल सम्पत्ति नै हो। हाम्रो तरल सम्पत्तिमा क्याप लगाउन राष्ट्र बैंकको गलत नीति लियो। देश श्रीलंका भयो भनेर गभर्नरले बोल्नु जायज होइन। सबै लगानीकर्ता एकजुट हुनुपर्छ। अब २–४ दिन टीएमएस नै बन्द गरेर लगानीकर्ता आन्दोलनमा उत्रिनुपर्छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19