– अनन्त्य सुन्दर
काठमाण्डौ । सेयर बजारमा घट्नै नहुने घटना गत शुक्रबार (असार २९ गते) घट्यो। त्यस दिन मर्जर प्रयोजनका लागि कारोबार रोक्का भएको रिलायन्स लाइफ इन्स्योरेन्सको ६१० कित्ता सेयर कारोबार भयो। कम्पनीको सेयरभाउमा पोजेटिभ सर्किटका साथ ३३.५ रुपैयाँको बढोत्तरी हुँदै ३६८.५ रुपैयाँमा कारोबार भएको थियो।
रिलायन्स लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्स मर्जमा जाने तय भएसँगै दुवै कम्पनीको सेयर कारोबार असार २९ बाट रोक्का भएको थियो। नेप्सेले यस विषयमा एक सूचना जारी गर्दै लगानीकर्तासँग माफी मागिसकेको छ।
नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्कीले वाईकोको कर्मचारीहरुको चरम लापरबाहीका कारण कारोबार रोक्का भएको रिलायन्स लाइफको सेयर किनबेच भएको बताउँदै आएका छन्।
नेप्सेको प्रणालीमा कुनै पनि किसिमको समस्या उत्पन्न हुँदा वाइकोका साथै ब्रोकरहरुलाई नेप्सेले दोष लगाएको यो पहिलो घटना भने होइन। टीएमएसमा समस्या हुँदा होस् वा कारोबार रोक्का भएको कम्पनीको कारोबार हुँदा नेप्सेले त्यस्ता किसिमको घटनाहरुको दोष सधैँ अरुको काँधमा सुम्पिने गरेको छ।
रोक्का भएको कम्पनीको सेयर कारोबार भएको विषयमा फ्रन्टलाइन रेगुलेटर नेप्सेलाई अन्य कसैलाई दोष देखाउँदै पन्छिने छुट यसपटक भने छैन। यसअघि कारोबार मर्जका कारण कारोबार रोक्का भएको देव विकास बैंकको बोनस सेयर नेप्सेमा लिस्टिङ भई कारोबार हुँदा नेप्सेले अर्थ मन्त्रालयदेखि नेपाल धितोपत्र बोर्डसम्मलाई स्पष्टीकरण पेस गरेको थियो।
नेप्सेले अनलाइन कारोबार प्रणाली (नट्स) सुरु गरेको झन्डै ५ वर्ष बित्दा पनि वाईकोको सहारामा नै चल्नुपरेको छ। नेप्सेले २०७५ कात्तिक २० बाट नट्स सुचारु गरेको थियो। नट्स सुचारु भएको वर्षौं बित्दा पनि नेप्सेमा अहिले पनि वाइकोका ४ जना कर्मचारी राखिएका छन्। तिनै कर्मचारीले नै नेप्सेको अधिकांश प्रणाली हेर्दै आएको बताउँछन्।
के गर्छन् नेप्सेका कर्मचारी?
नेप्सेका झन्डै ४० प्रतिशत कर्मचारी आईटी शाखामा छन्। तर, अनलाइन प्रणाली सुचारु भएको वर्षौं बित्दा पनि उक्त शाखाको कर्मचारीहरुमा आवश्यक ज्ञानका साथै अनुभव अझै पनि नभएको देखिन्छ। ‘ती कर्मचारीको काम वाइकोका चारजना कर्मचारीहरुले गर्दै आएकाले उक्त शाखाका कर्मचारीहरुको तलब खानेमात्र काम भएको छ’, नेप्सेकै एक कर्मचारीले भने।
‘सानो तार चुडिएकोदेखि प्रणालीमा आउने समस्यासम्मको समाधानका लागि वाइकोलाई गुहार्नुपर्छ’, ती कर्मचारी भन्छन्, ‘समयसँगै सम्बन्धित निकायका कर्मचारीले आवश्यक सीपका साथै अनुभव नबटुलेका कारण नेप्सेले हरेक पाइलामा वाइकोको साथ लिनुपरेको छ।’
नेप्सेको आइटी शाखाका कर्मचारीहरुले आफूहरुले प्रणाली हेर्न नसक्ने भन्दै जिम्मेवारी वहन नगरेका कारण हरेक ६–६ महिनामा वाइकोको कर्मचारीहरुको रिन्यू गरिराख्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको ती कर्मचारीको भनाइ छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19