काठमाण्डौ । हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक समशेर राणाले सेयर बजारमा संस्थापक सेयरको नाममा निकै ठूलो चलखेल भइरहेको दाबी गरेका छन् । उनले संस्थापक सेयरको नाममा ठूला लगानीकर्ता र पैसावालहरुले तीव्र चलखेल गरी आफू अनुकुल बजार घटाउने र बढाउने गरिरहेका दाबी गर्दै संस्थापक सेयरको अवधारणा नै खारेज हुनुपर्ने जिकिर गरेका छन्।

बिजशालालाई विशेष अन्तरवार्ता दिंदै पुराना तथा अनुभवी बैंकर राणाले संस्थापक र सर्वसाधारण समूहको सेयरको नाममा चलखेल हुने अवस्था आउने दाबी गर्दै भने–‘मैले लामो समयदेखि सबै सेयरलाई समान बनाउनुुपर्छ भनिरहेको छु। बरु लगानीको आधारमा ठूला र साना सेयरधनी भन्न सकिन्छ । प्रोमोटर सेयर जति बढी भयो, बजारमा उति म्यानुुपुलेसन हुनसक्छ ।’

आफू नेपाल बैंकर्स एशोसिएसनमा हुँदा यो बिषयमा तत्कालीन गभर्नर डा. युवराज खतिवडासँग पटक–पटक कुरा गरेको उल्लेख गर्दै उनले भने–‘अहिले त खतिवडाजी नै अर्थमन्त्री बन्नुुभएको छ । प्रोमोटर सेयर भनेर अब राखिनुुहुन्न, यो व्यवस्था मलाई ठीक लागेको छैन ।’ 

संस्थापक सेयरको किनबेचमा केही प्रतिबन्ध गरिएको भन्दै उनले थपे–‘तपाई अहिले एउटै बैंकको साधारण सेयर र संस्थापक सेयरको मूल्य हेर्नुभयो भने धेरै फरक पाउनुुहुन्छ । एउटा बैंकको सबै सेयरको मूल्य उस्तै हुुनुुपर्ने होइन र ? त्यसकारण बजारमा प्रोमोटरको अवधारणा हटाएर सबै सेयरको उति नै मूल्य राखिनुपर्छ ।’ 

प्रोमोटर र पब्लिक सेयरको नाममा अहिले पनि बैंक तथा बित्तीय संस्थामा द्वन्द्वको अवस्था रहेको उनको विश्लेषण छ । ‘अहिले हेर्नुुभयो भने एजीएमहरुमा प्रोमोटरहरु जतिसक्दो नगद लाभांशतर्फ जोड दिन्छन् भने पब्लिकतर्फका सेयरधनी बोनस सेयरमा जोड दिन्छन् ।’ उनले थपे–‘एउटै संस्थाका उस्तै सेयरधनीको उद्देश्य किन फरक ? त्यसकारण यो व्यवस्थाले विध्वंश ल्याउँछ ।’ 

उनले सेयर बजार निकट भविष्यमा नयाँ उचाईमा पुग्नसक्ने दाबी समेत गरे । ‘तपाईले हेर्नुभयो भने कारोबार ठीकै छ । सेयरको डिम्याट, बजारमा पारदर्शिताको वृद्धि र सेबोनले रियल सेक्टर लगायतलाई समेत बजारमा ल्याउने काम अगाडि बढाएको सुन्नमा आएको छ ।’ उनले भने–‘बजारमा अझै धेरै सेयर आउनुपर्छ । बैकिङ क्षेत्रको संस्थापकको सेयरलाई पब्लिकमा लगिनुुपर्छ र मात्रै बजारमा म्यानुुपुलेसन हुँदैन ।’ 

उनले कसैले बजारमा चलखेल गर्नसक्ने गरी गरिएको व्यवस्था तत्काल परिवर्तन हुनुपर्नेमा समेत पटक–पटक जोड दिए । माइक्रोफाइनान्स र वाणिज्य बैंकहरुको सेयर मूल्यको उदाहरण पेश गर्दै उनले भने–‘एउटा माइक्रोफाइनान्सको मूल्य १२०० रुपैयाँ छ, तर वाणिज्य बैंकको संस्थापक सेयरको मूल्य चाहि अत्यन्त न्यून । यस्तो कसरी हुन्छ ?’

राणाले सेयर बजार सुधारका लागि विदेशी लगानी र विशेषज्ञतालाई भित्रन दिनुपर्नेमा जोड दिए । ‘हाम्रो बजार सुध्रन्छ र व्यवस्थित बन्छ भने अनुुभवी र क्षमतावान विदेशीलाई ल्याएर नेप्सको नेतृत्व दिंदा पनि हुन्छ ।’ उनले थपे–‘नेपालको हरेक क्षेत्रमा सिण्डिकेट छ । सिण्डिकेट बनाउनेहरुले विदेशी क्षमता, सीप र अनुभवलाई यहाँ भित्रिने वातावरण नै बनाउँदैनन्, अनि कहाँबाट बजार सुधिन्छ ? कहाँबाट देशको विकास हुन्छ ?’ 

(राणासँगको विशेष अन्तर्वार्ता आइतबार प्रकाशित हुनेछ)