काठमाण्डौ । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘सानिमा लार्ज क्याप फन्ड’ मा आज बिहीबार साँझसम्म १० करोड ६६ लाख बढी इकाइ खरिदका लागि आवेदन परेको छ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडका अनुसार आज साँझ ५ बजेसम्म कुल ७५ हजार ८८४ आवेदकबाट १० करोड ६६ लाख ६९ हजार ४५० इकाइ खरिदका लागि आवेदन परेको छ। आज आवेदन दिने अन्तिम दिन पनि थियो।

प्रतिइकाइ मूल्य रु. १० दरका १० करोड इकाइमध्ये १ करोड ५० लाख इकाइ वा कुल बिक्री भएको इकाइ संख्याको १५ प्रतिशत इकाइ कोष प्रबद्र्धक सानिमा बैंक तथा योजना व्यवस्थापक सानिमा क्यापिटललाई सुरक्षित राखिएको छ। बाँकी ८ करोड ५० लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गरिएको छ। यो हिसाबले यो म्युचुअल फन्डमा मागभन्दा २ करोड १६ लाख ६९ हजार ४५० इकाइ खरिदका लागि आवेदन परेको छ। 

यो योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाइ र अधिकतममा १ करोड इकाइसम्मका लागि खरिद आवेदन दिन सक्ने छन्।

गत पुस १४ गते नेपाल धितोपत्र बोर्डले यो म्युचुअल फन्डलाई निष्कासनको अनुमति दिएको थियो।