काठमाण्डौ । पछिल्लो समय नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट आवश्यक सूचना वा जानकारी लिन निकै कठिन हुने गरेको छ। 

सेयर बजारको नियामक रुपमा सेबोन रहेको छ। सेयर बजारसँग सरोकार राख्नेहरुले सेबोनबाट आवश्यक सूचना तथा जानकारी सहज ढंगले प्राप्त सक्ने हुनुपर्छ। तर, सेबोनमा रमेशकुमार हमाल अध्यक्ष भएर आएरदेखि सेयर बजारसँग सम्बन्धित सूचना तथा जानकारी लिन सरोकारवालालाई हम्मेहम्मे पर्दै आएको छ। 

सूचना र जानकारी सहज ढंगले प्रवाह गर्न सबै सार्वजनिक निकायहरुमा जस्तै सेबोनमा पनि प्रवक्ता र सूचना अधिकारी तोकिएका छन्। तर, ती दुवै अधिकारीलाई सम्पर्क गर्दा वा भेट्दासमेत सामान्य जानकारी वा सूचना पाउन सकिने अवस्था नरहेको सरोकारवालाहरुको गुनासो छ। त्यतिमात्रै होइन प्रवक्ता र सूचना अधिकारीले सरोकारवालाले जानकारी माग्दा नदिने र सेबोनका अन्य अधिकारीहरु बोल्नै नमान्ने स्थिति रहेको उनीहरुको गुनासो छ। सामान्य सूचना पाउन पनि सेबोन अध्यक्ष हमाललाई नै सम्पर्क गर्न ती दुवै अधिकारीले आग्रह गर्ने गरेको अवस्था पनि छ। 

आफूले खोजेको कुनै एक कम्पनीको सूचना प्राप्तमात्र नपाएपछि काठमाण्डौ धुम्बाराहीका हरिबहादुर केसी राष्ट्रिय सूचना आयोग पुगेका छन्। उनले कात्तिक १२ गते सेबोनले आफूलाई सूचना उपलब्ध नगराएको भन्दै आयोगमा उजुरी दर्ता गरेका थिए। 

केसीको उजुरीमाथि कारबाही प्रक्रिया अगाडि बढाउँदै सूचना आयोगले कात्तिक १४ गते सेबोनलाई पत्र काट्दै सूचना उपलब्ध नगराउनुको कारण भए सोको आधार र प्रमाणसहित लिखित जबाफ पेस गर्न आदेश दिएको छ। यसका लागि आयोगले सेबोनलाई ७ दिनको म्याद दिएको छ। 

आदेशमा तोकिएको अवधिभित्र लिखित जबाफ पेस नभए नियमानुसार गरी पेस गर्न पनि आयोगले निर्देशन दिएको छ।