-भक्तराज रसाइली
काठमाण्डौ । मिडियामा आएका समाचारका आधारमा सेयर बजारमा होमिएका लगानीकर्ताहरु प्रशस्तै भेटिन्छन् । लगानीको उपयुक्त माध्यम बनिरहेको सेयर बजारमा ११ वर्षअघि प्रवेश गरेका यस्तै एक पात्र हुन्, भलाकाजी कटवाल । नेपाल आर्मीमा वारेन्ट अफिसरबाट रिटायर्ड भएपछि रेष्टुरेण्ट व्यवसाय सम्हाल्दै सेयरबजारमा समेत सक्रिय छन् ।
उच्च अध्ययनकै सिलसिलामा कट्वाल २०४२ सालमा राजधानी छिरेका थिए । उनले आरआर क्याम्पसबाट राजनीति शास्त्रमा स्नानतकोत्तर गरेका छन् । २०५४ सालताका नेपाल प्रेस इन्स्च्यिुटमा भर्ना भई १ वर्ष त्यहाँ अध्ययन गरे । २०५५ सालमा नेपाल आर्मीमा वारेन्ट अफिसरका रुपमा पत्रकारिताकै जागिरे बने । त्यहाँ उनले आर्मीसम्बन्धी जर्नल, म्यागेजिन लगायतमा लेख लेख्नुपथ्र्यो ।
सेयर बजारमा भने कटवालको प्रवेश २०५९ सालबाट भयो । पत्रपत्रिकामा आएका समाचारकै आधारमा ख्यालख्यालमै पूँजीबजार छिरेका उनले पहिलो आइपीओ भरेको कम्पनीको नाम बिर्से पनि ३० कित्ता हात पारेको सम्झन्छन् । त्यतिबेला थोरै पैसा हालेमा कम कित्ता आइपीओ पर्ने गरेको उनले स्मरण गरे । चारघण्टासम्म लाइन बसेर आइपीओ भरेको थिएँ ।’ कटवालले बिजशालासँग भने–‘कुनै दिन त दिनभरिमा पनि भर्न नपाएर भोलिपल्ट समेत आइपीओ हालेको याद छ ।’
दोस्रो बजारमा भने उनी २०६५ सालतिर छिरेका रहेछन् । सेयर बजारसँग सम्बन्धित पुस्तक, पत्रपत्रिका, वारेन्ट बफेटका पुस्तक स्वअध्ययन गरी बजारबारे जानकारी लिएको अनुभव कटवालले हामीसँग सुनाए । त्यसबेलाको ब्लूचिप कम्पनी चिलिमे हाइड्रोपावरको ५ सय कित्ता प्रतिकित्ता रु १७ सयमा खरिद गरेर दोस्रो बजारको स्वाद हासिल गर्दैगर्दा सोही सेयर पछि २५ सयमा उनले बिक्री गरे । तलबको केही अंश बचतलाई सेयर बजारमा खन्याएका कटवाल सेनाबाट बिदेश जाँदा पाएको ३ लाख र भत्ता २ लाखबाट दोस्रोबजारमा आफ्नो पोर्टफोलियो बढाउन भ्याए । केही लाख लगानीलाई सेयर बजारमा खन्याउँदै जाँदा रु.४ करोडसम्म आफ्नो पोर्टफोलियो पुगेको उनी सम्झन्छन् । तर हाल नेप्से इण्डेक्सको गिरावटमा उनको पोर्टफोलियो आकार घटेर रु. १ करोड ६५ लाखमा सीमित बन्न पुगेको छ ।
लाखलाई करोडमा परिणत गर्न सफल भएका कटवालले चावहिलमा घरजग्गासमेत जोड्न भ्याए । पछि सो घर उनले व्यक्तिगत तथा सेयरकै कारणले बेचे ।
शिखर इन्स्योरेन्स कम्पनीको सेयर रु. १८ सय प्रतिकित्तामा खरिद गरेर रु.३९ सयसम्म बेच्नसमेत सकेका उनले सेयरमा कहिले पनि घाटा खानु नपरेको दाबी गरे । ‘म दीर्घकालीन लगानीकर्ता हुँ।’ उनी भन्छन्–‘प्रतिफलमा आधारित भएर विभिन्न कम्पनीमा लगानी गर्दै आएको छु । सेयर बजार चक्र हो, कहिले बढ्ने कहिले घट्ने त भइहाल्छ नि।’
उनले सेयर बजारमा ठूला लगानीकर्ता र सेयर ब्रोकरहरुको चलखेल हुने गरेको आरोप लगाए । विश्वमा ८–१० वर्ष र नेपालमा भने ५–६ वर्षमा बूल र वियरिस ट्रेण्ड आउने कटवालको ठम्याइँ छ । कम्पनीको इपीएस र पीइ रेसियोको मूल्याङ्कन गरी सेयरमा लगानी गर्दा चनाखो हुनुपर्ने उनको अनुभव छ ।
रेष्टुरेण्ट व्यवसाय र कलेजमा पत्रकारिताको एउटा कक्षा समेत लिइरहेका कटवाल सेयर बजारको उत्तारचढावलाई सामान्य लिनुपर्ने धारणा राख्छन् । ‘उत्तारचढाव नियमित प्रक्रिया हो । कम्पनीको मालिक, व्यवस्थापन, इपीएस, पीई रेसियो लगायतका महत्वपूर्ण पक्षलाई केलाएर मात्र लगानी निर्णयमा पुग्नुपर्छ ।’ उनले थपे ।
सरकारी प्राथमिकता र चासो हाल पूँजीबजारमा खट्किएको विषय भएको उल्लेख गर्दै कटवाल पोर्टफोलियो घटेकोमा केही दुःख लागे पनि अहिलेको अवस्था सेयर बजारमा क्र्याश भएको जिकिर गर्छन् । ‘बजार घटेकाले पीडित छु, यद्यपि बुलिस ट्रेण्डमै जान्छ भन्ने आशा छ।’उनले भने ।
नेप्से घट्दा किन्नुपर्छ भने बढ्दा बेच्नुपर्छ तर नेपालमा ठ्याक्कै उल्टो हुन्छ । उनले जथाभावी सेयर किन्ने प्रवृत्तिले नै मान्छे डुबेको ठोकुवै गरे । ‘बुलमा मैले पनि प्रायः सेयर बेचेँ, तर २२०० पुग्ने लोभका कारण धेरै सेयर बेच्न सकिँन र नसकिने पनि रहेछ।’कटवालले भने–‘बजार बढिरहँदा लोभकै कारण फस्ने जोखिमका बारेमा विचार पुर्याउनुपर्ने रहेछ । यो नै मैले सिकेको ठूलो पाठ हो ।’
खरिद गरिएको मूल्य बढे बेचेर नाफा बूक गर्नुपर्ने पाठ सिकेका कटवाल भन्छन्–‘धेरै लोभी बने डूबिने रहेछ ।’
बजार बूल हुँदा उनको पोर्टफोलियोमा इन्स्योरेन्स र लघुवित्तका सेयरहरु थुपारेका रहेछन्, तर कम उत्तारचढाव हुने बैंकका सेयरमा उनले पोर्टफोलियो परिवर्तन गरेका कारण सुरक्षित नै भएको महसुस गरेका रहेछन् ।
‘मूल्यमा गिरावट भयो, तर सेयरको मात्रा बढेकाले बचेजस्तो लाग्छ।’उनले लामो सुस्केरा हाल्दै बोले–‘कताकता फ्रस्टेड पनि छु ।’
बिदेशमा रहेका नेपालीहरुलाई पनि सेयर किन्न अनुरोध गर्दै सरकारले ७७ जिल्लाबाट बैंकका शाखामार्फत नै सेयर कारोबारको व्यवस्था मिलाए सेयर बजारले छलाङ मार्ने दाबी समेत गरे ।
‘बजारमा इन्स्योरेन्सको सेयर थोरै छ भनेर लगानीकर्ताले होडबाजीमा किन्ने प्रचलन छ, जुन सरासर गलत हो।’ कटवाल सुझाउँछन्–‘मूल्यका आधारमा हैन कमाइका आधारमा सेयर किन्नु बुद्धिमानी ठहर्छ ।’
लगानीकर्ताका संघसंगठनका नेताहरुले नयाँ लगानीकर्ता भित्र्याउन र सरकारलाई घच्घच्याउन आवश्यक रहेको जिकिर गरेका कटवाल संगठनका नेताको बिल्लाकै आधारमा थर्काउने अनि सूचना चुहावट गरेर आफैं धनी बन्ने चलन गलत भएको जिकिर समेत गरे ।
नियामक निकाय जिम्मेवार नबनिदिँदा र राजनीति घुस्दा पूँजीबजार विकास र विस्तार हुन नसकेको कटवालको बुझाइ छ । नेप्से र सेबोनका अधिकारीहरुले पूँजीबजारको विकास र विस्तारमा ध्यान केन्द्रित गर्न नसकिरहेका उनी दाबी गर्छन ।
पूँजीबजारसँग सम्बन्धित नीति निर्देशनमा लापरवाही भइरहेको दाबी गर्दै कटवालले विज्ञको सुझाव नै नलिने परिपाटीले समेत गाँजेको बताए । ‘नीतिनिर्देशनका फाइदाबेफाइदा बारे अग्रिम आंकलन नगरिदा नेप्से र सेबोनका अधिकारीहरुले अनपढ गवारझैं काम गरेको अनुभूति हुन्छ।’कटवालले भने –‘सबैले आ–आफ्नो तप्का र क्षेत्रबाट सकारात्मक पहल र भूमिका खेले पूँजी बजारको भविष्य उज्यालो छ।’
नेप्सेको अनलाइन प्रणाली फूलफेजमा सञ्चालन हुनुपर्ने, एनआरएनएलाई बजार प्रवेश गराउनुपर्ने र ब्रोकर कमिसन घटाई सरकारले पनि पूँजीबजारलाई प्राथमिकतामा राख्नुपर्नेमा कटवालले जोड दिए ।
सफल लगानीकर्ता बन्न धैर्यताको जरुरत पर्ने विचार राख्दै अहिले नवप्रवेशी लगानीकर्ताहरुका लागि बजार प्रवेश गर्ने मौका रहेको र राम्रा कम्पनीका सेयरबाट कमाउन सकिने कटवालले दाबी गरे । ‘अब बजार बुलिस हुने प्रष्ट संकेत देखिएको छ।’ कुराकानीको बिट मार्दै उनले भने ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago