काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार बजारमा पुनः उछाल आएको छ । नेप्से परिसूचक र कारोबार रकम दुवैतर्फको उछालले बजारमा हङ्ग्री इन्भेष्टर(भोकाएका लगानीकर्ता)को खरीद प्यास अझै घटेको छैन भन्ने देखाउँछ । उनीहरु बजारमा दिल खोलेरै खरीद गर्नतर्फ लागेका देखिएको छ । 

लगानीकर्ताहरुको यही खरीदप्यासले लामो समयपछि कारोबार रकम २ अर्ब माथि पुगेको छ । अघिल्लो बुल रनको बेला समेत कारोबार रकम २ अर्ब माथि पुगेको थियो । नेप्से परिसूचक र कारोबार रकमतर्फको उछालको गतिले अब भने बजारमा दिगो बुलरनको याम सुरु भएको अनुभूत गराएको लगानीकर्ताहरु बताउँछन् । 

बजारमा बुल रन सुरु भई कमाउने प्रशस्त अवसर भएपछि नयाँ लगानीकर्ताहरुको समेत ब्रोकर हाउसमा उस्तै चाप देखिएको छ । ठूला तथा संस्थागत लगानीकर्ताहरु पनि दिल खोलेरै सेयर खरीदारीमा लागेका देखिएको छ । 

बैंक तथा वित्तीय संस्थाहरुले सेयर धितो कर्जालाई सरल बनाउँदै लगेपछि, बैंकको समग्र ब्याजदर घट्दै गएपछि, पर्याप्त तरलता भए पनि कतिपय नियामकीय नीतिका कारण उद्योग तथा सेवा क्षेत्रको व्यापार मन्दी भई लगानी समेत जोखिममा पर्ने देखिएपछि सबै खालका लगानीकर्ता अहिले सेयर बजारमा थुप्रिन थालेका छन् । अन्य क्षेत्रमा लगानी गरेर व्यापार व्यवसाय गर्दा बढी झञ्झट व्यहोर्नु परेपछि ती क्षेत्रभन्दा केही सहज सेयर बजारमा लगानी थुप्रिएको ब्रोकरहरु बताउँछन् । 

बजारमा लगानीकर्ताको चहलपहल र दौडधूप कुन स्तरमा बढेको छ भन्ने कुरा ब्रोकर अफिसहरुमा पार्किङको ठाउँ नपाउनु र लगानीकर्ताले सिट नपाउने अवस्था देखाउने भुक्तभोगीहरु बताउँछन्। 

अर्कोतर्फ, लगानीकर्ताको चाप ह्वात्तै बढेपछि नेप्सेको सिस्टमले समेत बेला बेला काम गर्न छाड्न थालेको छ । नेप्सेको मुख्य वेबसाइट आइतबार समेत तीव्र गतिमा बजार बढेको समयमा अधिकांश ठाउँमा चलेन । ब्रोकरले चलाउने टिएमएसमा भने अवरोध देखिएन । यसरी नेप्सेको निकै बलियो र ठूलो क्षमताको भनिएको वेबसाइट नै नचल्ने गरी लगानीकर्ताको चाप बढेसँगै र बजारमा कारोबार रकम र परिसूचक समानान्तर गतिले अगाडि बढेपछि बुल रनको यो क्रम दिगो बन्नसक्ने संभावना देखिएको विश्लेषक बताउँछन् । 

कतिपय विश्लेषकहरुले त आफूहरुले गरेको प्रक्षेपण भन्दा पनि छोटो अवधिमै बजार निकै माथि पुग्नसक्ने संभावना व्यक्त गरेका छन् । विश्लेषकहरुले बजार बढेर १३९० देखि १४०० को हाराहारीमा पुगेपछि लामो करेक्सन आउने दाबी गरिरहेका छन् । तर, पछिल्लो बजारको बढोत्तरी ट्रेण्डले बजार चाँडै १५०० को विन्दूमा पुग्नसक्ने संभावना बढेर गएको एक प्राविधिक विश्लेषकले बताए । 

आइतबार के-के भयो ?
यो दिन बजारका अधिकांश समूहको उपसूचकमा उछालको अवस्था देखियो । विगत लामो समयदेखि चम्किरहेका जीवन बिमा र निर्जीवन बिमा समूह आइतबार पनि चम्किए । नेप्से परिसूचक ३३.४३ अंकले बढेर १३४३.६५ को विन्दूमा पुगेको यो दिन जीवन बिमा समूहको परिसूचक ४०३.२५ अंक, निर्जीवन बिमा समूहको परिसूचक ३३७.०२ अंकले बढ्यो । 

बैंकिङ समूह १७.९४ अंकले बढेको यो दिन विकास बैंक समूहमा ६६.५३ अंक, होटल समूहमा ४९ अंक, जलविद्युत समूहमा ४५.४६ अंक, बित्त समूहमा ३५.१६ अंक, उत्पादनमूलक समूहमा ५९.९४ अंक, माइक्रोफाइनान्समा ३२.०६ अंक, अन्य समूहमा १२.३६ अंक र म्युचुअल फण्ड समूहमा ०.५४ अंकको बढोत्तरी देखियो । 

यो दिन व्यापार समूहको उपसूचक भने ७.९८ अंकले घट्यो । 

राम्रा र बलिया कम्पनीमा उच्च खरीद चाप देखिएका कारण सेन्सेटिभ इण्डेक्स ५.५२ अंकले बढ्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा पनि २.३६ अंकको उच्च बढोत्तरी देखियो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १७८ कम्पनीका ६१ लाख ३१ हजार ४१८ कित्ता सेयर २ अर्ब ९ करोड ८ लाख ७७ हजार ९७१ रुपैयाँमा किनबेच भयो । 

सबैभन्दा बढी हिमालयन डिस्टीलरीको १२ करोड १५ लाख बढीको कारोबार भयो । 

शिवम सिमेन्टले १० करोड बढीको कारोबार गरेको यो दिन नेपाल लाइफ इन्स्योरेन्सले ८ करोड ७९ लाख, प्रभू बैंकले ८ करोड १८ लाख, एनसीसी बैंकले ६ करोड ६७ लाख, एनआइसी एशिया बैंकले ६ करोड ३० लाख, नेपाल बैंकले ४ करोड ९३ लाख, शिखर इन्स्योरेन्सले ४ करोड ७२ लाख, नागरिक लगानीकोषले ३ करोड ९९ लाख र नेशनल लाइफले ३ करोड ८४ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन २४ वटा कम्पनीमा उछालको अवस्था देखियो । ती २४ मध्ये ५ कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भयो भने बाँकी १९ वटाको मूल्य पनि १० प्रतिशतकै हाराहारीमा बढ्यो । 

यो दिन अत्यधिक कमाउने २४ कम्पनीहरु यसप्रकार छन्:
लक्ष्मी इक्वीटी फण्ड, प्राइम लाइफ इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, हिमालय जनरल इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, प्रभू इन्स्योरेन्स, प्रूडेन्सियल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, गुड्विल फाइनान्स, रिलायन्स फाइनान्स, मल्टिपर्पस फाइनान्स, आइएमई जनरल इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, गोर्खाज फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, एशियन लाइफ इन्स्योरेन्स, यूनाइटेड इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स, मञ्जुश्री फाइनान्स, नेपाल सेवा लघुवित्त

यस्तै, यो दिन २४ वटा कम्पनीको सेयर मूल्य मात्र घट्यो । यो दिन स्वाभिमान लघुवित्तको सेयर मूल्य ७ प्रतिशतको हाराहारीमा र कालिका पावरको सेयर मूल्य ६ प्रतिशतले घट्न पुग्यो ।