काठमाण्डौ । भैरवकुण्ड हाइड्रोपावरले निश्कासन गर्नलागेको ३१ करोड ८३ लाख २८ हजार रुपैयाँ बराबरको आइपीओलाई इक्रा नेपालले ग्रेड फाइभको ग्रेडिङ्ग प्रदान गरेको छ । 

यो ग्रेडले सबैभन्दा कमजोर आधार जनाउँछ । इक्रा नेपालले १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ्ग प्रदान गर्दछ, जसमा  ग्रेड १ ले बलियो आधारहरु जनाउँछ भने गे्रड ५ ले कमजोर आधार जनाउँछ ।  ग्रेड २, ३ र ४ मा प्रयोग गरिने प्लस चिन्हले त्यस समूहका तुलनात्मक सकारात्मक स्थितिलाई जनाउँछ । 

यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३१ लाख ८३ हजार २ सय ८० कित्ता आइपीओ निश्कासनको माग गर्दै कात्तिक ६ गते धितोपत्र बोर्डमा आवेदन दिएको छ। 

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ६ लाख ५० हजार कित्ता र सर्वसाधारणका लागि २५ लाख ३३ हजार २ सय ८० कित्ता आइपीओ निश्कासनको माग गरेको छ । 

आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ । 

भैरवकुण्डले सिन्धुपाल्चोक जिल्लाको तातोपानीमा ३ मेगावाटको परियोजना सञ्चालन गरिरहेको छ । यस कम्पनीको चुक्ता पुँजी ६५ करोड रुपैयाँ छ । महाभूकम्पका कारण क्षतिग्रस्त यो आयोजना मर्मत सम्भारपछि पुनः संचालनमा आएको हो ।