काठमाण्डौ । नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष तथा पुराना सेयर लगानीकर्ता छोटेलाल रौनियारले ब्रोकरहरुलाई ‘चोर’को संज्ञा दिएका छन् । 

नेपाल स्टक एक्सचेञ्ज घेर्न सोमबार भद्रकाली पुगेका लगानीकर्तालाई सम्बोधन गर्दै उनले ब्रोकरहरुप्रति आक्रोश पोखेका हुन् । 

उनले ब्रोकरहरुले लगानीकर्ताको लगानीमाथि खेलवाड गरिरहेका, अनलाइन कारोबार प्रणाली सफल हुन नदिने ब्रोकर नै लागिपरेका, बैंकहरुलाई ब्रोकर लाइसेन्स नदिने भन्दै ब्रोकरका नेताले बिष बमन गरिरहेका भन्दै सार्वजनिक मञ्चबाटै ‘चोर’को संज्ञा दिएका हुन् । 

‘मैले यो कोट लगाएको छु, एउटा पकेट सेबोनको हो, एउटा पकेट नेप्से र चोर पकेट ब्रोकर हो । कोट मेरो, तर साँचो उहाँहरुसँग छ ।घर मेरो, चाबी उहाँहरुसँग छ ।’ सांकेतिक शैलीमा उनले भने–‘हाम्रो लडाई पोलिसीमा हो । हाम्रो पकेट हाम्रो हुनुपर्यो । यो पकेट न त चोर ब्रोकरको हो, न नेप्सेको हो, न सेबोनको हो ।’ 

उनको आक्रोश यत्तिमै थामिएन । केही ब्रोकरहरुले अनलाइन नआओस् भन्ने चाहिरहेका समेत उनले दाबी गरे । केही लगानीकर्ताहरुले ब्रोकरको यही लाइन र चाहनालाई सपोर्ट गरिरहेका उल्लेख गर्दै रौनियारले भने–‘त्यस्ता ब्रोकरको गलत सोंचको शिकार नहुनुहोस् । त्यस्ता ब्रोकरलाई अञ्जानमा सपोर्ट नगर्नुहोस् ।’

उनले ब्रोकरहरु बैंकहरुलाई ब्रोकरेज लाइसेन्स दिन नहुने भन्दै षड्यन्त्र गरिरहेका आरोप समेत लगाए । ‘हामीले अनेक दुःख गरेर बैंकलाई ब्रोकर लाइसेन्स दिने बिषय पोलिसीमा ल्याउन सफल भयौं ।’ उनले भने–‘बच्चा गर्भमै छ, त्यो नजन्मँदै तुहिएलाजस्तो भइसक्यो । ब्रोकरका नेताहरु बैंकहरुलाई ब्रोकर लाइसेन्स दिए इन्साइडर ट्रेडिङ हुन्छ भन्न थालिसके ’।

उनले बैंकहरुलाई ब्रोकर लाइसेन्स दिन नहुने पक्षमा माहौल बनाउन ब्रोकर लागेका दाबी गरे । ‘कात्तिक २० गते अनलाइन कारोबार प्रणालीको शुभारम्भ समारोहमा तपाईले पनि सुन्नुभयो होला, स्टक ब्रोकरका अध्यक्षले ब्रोकरहरुलाई पनि बैंकहरुले पार्टनर बनाएर ब्रोकरेज सेवा दिए ठीक हुन्छ भन्नुभयो ।’ रौनियारले भने–‘बैंक उनीहरुको पार्टनर बनिदिंदा चाहि इन्साइडर ट्रेडिङ नहुने, बैंक एक्लैले त्यो सेवा दिंदा चाहि इन्साइडर ट्रेडिङ हुने ? यस्तो पनि हुन्छ ?’

सोही समारोहलाई सम्बोधन गर्ने क्रममा लगानीकर्ताका अर्का नेता उत्तम अर्यालले सोमबारको प्रदर्शनमा सहभागिता निकै न्यून भएको बताए । आफूहरुले सबैलाई प्रदर्शनमा आउन आह्वान गरे पनि लगानीकर्ताहरु संवेदनशील नभएका भन्दै उनले चित्त दुखाएका थिए । 

बाँकी कुरा भिडियोमै हेर्नुहोस्