काठमाण्डौ । बजारमा निरन्तर पहिरो गइरहँदा लगानीकर्ताहरुलाई मार्जिन कलको त्रासले सताउन थालेको छ । 

बजार निरन्तर घटेर बैंकहरुले लगानी गरेको सेयर धितोको मूल्य समेत २० प्रतिशत भन्दा बढी नै घट्न थालेपछि बैंकहरुले मार्जिन कल र म्यासेज गरेसँगै लगानीकर्ताले अत्तालिएर सेयर बिक्रीको चाप बढाउँदा साताको पहिलो कारोबार दिन आइतबार बजारमा १७.७३ अंकको पहिरो गएको छ ।

पछिल्लो समय बजार निरन्तर घट्न थालेपछि बैंकहरुले मार्जिन कल गर्न थालेका छन् । ‘दैनिकजसो सेयर धितोकर्जा चुक्ता गर्न आउने म्यासेजले हाम्रो दैनिकीलाई तनावित बनाइदिएको छ ।’ एक लगानीकर्ताले बिजशालासँग भने–‘अहिलेको बजार घटाईको प्रमुख कारण मार्जिन कल नै हो ।’ 

योसँगै बजारमा आशा गर्न सकिने तथा लगानीकर्ताहरुको मनोबललाई बलियो बनाउने गतिला आधार छैनन् । बैंकहरुले ब्याजदरमा मनपरी वृद्धि गरिरहेका छन् भने बजार सुधारका पक्षमा लाग्नुपर्ने सरोकारवाला निकाय समेत विभिन्न चलखेल गर्ने गिरोहसँग मिल्दा सोझा लगानीकर्ता दैनिक करोडौं गुमाइरहेका छन् । 

लगातार दैनिकजसो दोहोरो अंकले बजार घटिरहेका कारण धेरै लगानीकर्तामा बियरिस ट्रेण्ड सुरु भएको समेत आभास हुन थालेको छ । यसले समेत बजारमा थप नकारात्मक प्रभाव पारेको देखिन्छ । 

अनलाइन कारोबार प्रणाली भनेजस्तो नहुँदा र यसको नाममा समेत तीव्र चलखेल भई लगानीकर्ताको भावनामाथि खेलवाड गर्ने काम भएको छ । नेप्से, धितोपत्र बोर्ड, वाइको लगायतका कम्पनीहरुले नेप्सेको पूर्ण अनलाइन कारोबार प्रणाली निर्माणको नाममा करोडौं खर्च गरे पनि निकै कमजोर र गुणस्तरहीन प्रणाली कार्यान्वयनमा ल्याएपछि चलखेल गर्नेलाई थप अवसर मिलेको छ । त्यस्ता समूह धमिलो पानीमा माछा मार्न उद्यत रहँदा लगानीकर्ता भने गिरेको मनोबल लिएर घाटा खाएरै पनि सेयर बेच्न उद्यत देखिन्छन् । 

बजार घट्नु र बढ्नु सामान्य कुरा हो । तर, निरन्तर गिरावट भइरहेका कारण सामान्य लगानीकर्ता अत्तालिनु पनि अस्वभाविक देखिन्न । आफ्नै आँखा अगाडि आफ्नो लगानी स्वाहा भइरहेको टुलुटुुलु हेर्नु बाहेक अन्य विकल्प नभएका कारण पनि लगानीकर्तामा बढी त्रास देखिएको छ । 

निरन्तरको गिरावटका कारण नेप्से परिसूचक ११०० विन्दू उन्मुख भएको छ । नेप्से परिसूचक ११३०.६३ को विन्दूमा सीमित हुन पुगेको छ । 

यो दिन सेन्सेटिभ इण्डेक्समा ३.८९ अंकको गिरावट देखिएको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा पनि १.३३ अंकको गिरावट देखिएको छ । 

व्यापार समूहमा २.९६ अंकको झिनो वृद्धि देखिए पनि बाँकी सबै समूहमा रातो पोतिएको छ । 

सबैभन्दा बढी निर्जीवन बिमा समूहको सूचकमा पहिरो गएको छ । यो समूहको परिसूचक १३९.५१(करिब ३ प्रतिशत)ले घटेको छ । यसैगरी, जीवन बिमा समूहमा पनि २.०६ प्रतिशत अर्थात १०५.५७ अंकको पहिरो गएको छ । 

माइक्रोफाइनान्स समूहको सूचकमा समेत २.२ प्रतिशत अर्थात २८.८५ अंकको पहिरो गएको छ । 

यो दिन बैंकिङ समूह १५.५८ अंकले घटेको छ भने विकास बैंक समूह ११.३३, होटल समूह ३३.२६, जलविद्युत समूह १६, बित्त समूह ५.०७, उत्पादनमूलक २.७३ र अन्य समूह ७.७३ अंकले घटेका छन् । 

धेरै कारोबार गर्ने कम्पनी
नेप्से परिसूचकमा तीव्र गिरावटको  सिजन चलिरहेको बेला आइतबार कारोबार रकमले भने केही आशालाई कायमै राखेको छ । यो दिन बजारमा १ सय ५६ कम्पनीका १४ लाख ४२ हजार १ सय ३८ कित्ता सेयर ४५ करोड ४६ लाख ९५ हजार ९ सय ९५ रुपैयाँमा किनबेच भएको छ । 

यो दिन नेपाल बैंकले मात्र ७ करोड १९ लाख बढीको कारोबार गरेको छ । एनएमबी बैंकले ३ करोड ४६ लाख बढीको कारोबार गरेको बजारमा नेपाल लाइफ इन्स्योरेन्सले २ करोड ९५ लाख, ग्लोबल आइएमई बैंकले १ करोड ९२ लाख, प्रभू बैंकले १ करोड ५६ लाख, एनआइसी एशिया बैंकले १ करोड ४८ लाख, सानिमा बैंकले १ करोड २४ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले १ करोड ६ लाख, एनसीसी बैंकले ९३ लाख र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ७९ लाख बढीको कारोबार गरेका छन् । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन विजय लघुवित्तका लगानीकर्ताले कुस्त कमाएका छन् । यो कम्पनीको सेयरमूल्य ८.४९ प्रतिशतले बढेको छ । 

लुम्बिनी जनरल इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यो कम्पनीको सेयर मूल्य ८ प्रतिशतको हाराहारीमा घट्यो । यूनाइटेड इन्स्योरेन्सको सेयर मूल्य ७.५० प्रतिशत तथा आरम्भ माइक्रोफाइनान्सको मूल्य ७.४६ प्रतिशतले घटेको छ ।