काठमाण्डौ । मध्यभोटेकोशी हाइड्रोपावर कम्पनीले दोश्रो चरणको आइपीओ आज(मंसिर १९)देखि निश्कासन गरेको छ । 

यो कम्पनीले दोश्रो चरणमा २१ लाख कित्ता प्रोमोटर कम्पनीका कर्मचारीका लागि र ६ लाख कित्ता सञ्चयकोषका कर्मचारीका लागि निश्कासन गरेको हो । 

यो जलविद्युत आयोजनाको प्रोमोटर सेयर होल्डिङ कम्पनी तथा ऋणदाता संस्थाका कर्मचारीले न्यूनतम ५० कित्तादेखि अधिकतम ५ सय कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् भने सञ्चयकोषका कर्मचारीले भने न्यूनतम ५० कित्तादेखि अधिकतम १ हजार २ सय कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 

यो कम्पनीको आइपीओ निश्कासनमा ग्लोबल आइएमई क्यापिटल लिमीटेडले बिक्री प्रबन्धकको काम गर्नेछ । सह बिक्री प्रबन्धकहरुमा एनआइबिएल एस क्यापिटल, प्रभू क्यापिटल, लक्ष्मी क्यापिटल, सानिमा क्यापिटल, सिभिल क्यापिटल र सिबीआइएल क्यापिटल लिमीटेड रहेका छन् । 

इच्छुक र योग्य आवेदकले सीआस्वा सेवा प्रदान गर्ने बैंक तथा बित्तीय संस्थाका शाखाबाट आवेदन दिन सक्नेछन् । आवेदकले आइपीओका लागि आवेदन दिंदा आफू कार्यरत संस्थामा आबद्धताको परिचय खुल्ने कागजात समेत पेश गर्नुपर्नेछ ।

केयर रेटिंग्सले यो कम्पनीको आइपीओलाई केयर एनपी आइपीओ ग्रेड फोर प्लसको रेटिङ दिएको छ । यसको अर्थ कम्पनीको अवस्था औसत भन्दा केही कमजोर छ भन्ने हो । 

एकसय २ मेगावाट क्षमताको यो आयोजनामा चिलिमे हाइड्रोपावर कम्पनीको ३८ प्रतिशत र नेपाल विद्युत प्राधिकरणको १० प्रतिशत लगानी छ ।

यस्तै, नेपाल अरनिको हाइड्रो कम्पनी, सिन्धु इन्भेष्टमेन्ट कम्पनी प्रालि र सिन्धुपाल्चोक हाइड्रो पावर कम्पनीको एक एक प्रतिशत लगानी रहनेछ । आइपीओमार्फत सर्वसाधारण लगानीकर्ताको सेयर स्वामित्व १५ प्रतिशत कायम गरिनेछ भने आयोजना प्रभावित क्षेत्रका बासिन्दाको १० प्रतिशत, कर्मचारी सञ्चयकोषको १९.५ प्रतिशत र आयोजनाका कर्मचारीको ३.५ प्रतिशत सेयर स्वामित्व रहनेछ । आयोजनाका लागि कर्मचारी सञ्यचकोषले मात्रै ६ अर्ब २१ करोड ऋण प्रवाह गरेको छ । 

सिन्धुपाल्चोक जिल्लाकै ठूलो आयोजनाको रुपमा रहेको यसको बाँध मार्मिङ–९ चाकुमा र पावर हाउस जम्बुमा रहनेछ भने ७.२ किलोमिटर लामो सुरुङमार्ग निर्माण गरिनेछ । 

यो आयोजनाको सुरुवाती लागत १५ अर्ब रुपैयाँ रहेको छ । यो आयोजनाको निर्माण सन् २०१९ को जून महिनासम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 

प्रारम्भिक आँकडा अनुसार आयोजना पूर्ण रुपमा संचालन भएको खण्डमा वार्षिक ५४ करोड २० लाख युनिट विद्युत उत्पादन हुनेछ । उसले विद्यूत बिक्रीबाट मात्रै वार्षिक २ अर्ब ९० करोड बढी आम्दानी गर्नसक्ने अनुमान गरिएको छ ।