-धनकुमार राई
सामान्यतया सेयर बजारको बारेमा लगानीकर्ताहरुले के महसुस गर्दछन् ? यो संक्रामक नै हुने गर्दछ । त्यस्तै सोसल मिडिया तथा अनलाइन र समाचारपत्रहरुमा ब्याप्त समाचारले पनि लगानीकर्ताहरुको मनोबलमा संक्रामकको भूमिका खेलिरहेको हुन्छ । यस अर्थमा सोसल मिडिया तथा अनलाइन र समाचारपत्रमा ब्याप्त खबरहरु नै सेयर बजारका लागि अग्रदुत बनेर आइरहेको देखिन्छ । यसले यो प्रमाणित हुन्छ कि सकारात्मक या नकारात्मक भावनाले प्रेरित स्टक सम्बन्धी समाचारहरुले बजार तरङ्गित हुने हुँदो रहेछ (रिपलिङ इफेक्ट) । जसले शेयर बजार र अर्थब्यवस्थामा अतिरञ्जित आशा र निराशा फैलाइरहेको हुन्छ । सन्दर्भ नेपाली सेयर मार्केटमा आएको घट्दो स्थितिको हो ।
माथिको सन्दर्भलाई केलाउनबाहेक अर्को प्रश्न–के नेप्सेमा कम्पनीहरुको प्रदर्शनलाई विश्वास गर्ने आधारहरु सकिएकै हुन् त ? देशको अर्थब्यवस्थालाई विश्वास गर्ने आधारहरु नभएकै हो त ? बजार सूचकांक १८८८ पुग्दाको प्राकृतिक स्थिति र हाल ११०० को स्थितिको बीचको फरक के ? राष्ट्रिय अर्थतन्त्रको आकार सुहाउँदो सेयर बजार सूचकांकको आकार अतिरञ्जित भएकै हो त ? यी प्रश्नहरुको जवाफले मात्र धेरै कुरा प्रष्ट पार्न सक्छ ।
स्थायी सरकार छ, आर्थिक बृद्धिको कामहरु अगाडि छन्, स्टक मार्केटमा दरिएका कम्पनीहरु कमाई गरि रहेकै छन् । नाफा बाडिरहेकै छन् । प्राय सबैसँग नाफा गर्ने बहाना पहिलेको भन्दा धेरै भइनै रहेका छन् । आइपिओमा लगानीकर्ताहरुको उत्साह र लगानी उच्च नै छ । तर दोश्रो बजारमा खरिदकर्ता लगानीकर्ताहरुको मनोबल किन बलियो बन्न सकिरहेको छैन त ? के बजारलाई स्पेकुलेटिभ पक्षले मात्रै डोहोर्याइरहेको हो त ?
विगतलाई हेरौंः १ कित्ता शेयर २ हुने भयो, हकप्रद पाइन्छ भनेर बढ्ने गर्ने गरेको नेपाली बजार आज सबैले नाफा बाँडिरहदा पनि कमजोर मनोबलको शिकार भइरहेको छ । बजारमा सूचिकृत प्रायः कम्पनीहरुको आर्थिक स्थिति नियाल्दा नेप्सेको उच्चस्तरको समय र आजको समयको बीचमा त्यस्तो फरक पाइन्न, तर खरिदकर्ताहरु हिच्किचाइनै रहेका छन् । सन्दर्भ भीडको पछि लाग्ने मानसिकताको शिकारबाट लगानीकर्ताहरु जोगिनुपर्छ भन्ने हो ।
यसै सन्दर्भमा शेयर बजारबाट अकूत सम्पत्ति कमाएका वारेन बफेट मान्दछन्–‘शेयर बजारमा लगानी गर्नको लागि पहिलो आवश्यकता सधै सकारात्मक सोच्नु हो । जेसुकै होस आउने सन्ततिले हामी भन्दा राम्रो जीवन जीउन पाउन् भनेर शेयर बजारमा लगानी गर्नु पर्ने हो ।’ उनको भनाईमा लामो अवधिका लगानीकर्ताहरुले सेयर मार्केटमा घाटा व्यहोर्नु भनेको लगभग शून्य बराबर नै हुन्छ भने लामो अवधिमा कमाइ गर्न पनि स्टक बजारको बारेमा कुनै ज्ञान नै नभए पनि फरक पर्दैन । तर, बजारमा धेरैलाई धेरै कुरा थाहा भएको भान भए पनि उनीहरुलाई शेयर बजारको ए, बि., सि, डि, चाहि थाहा हुँदैन ।
नेपाली बजारमा पनि सबै लगानीकर्ताहरुले प्रायः सबै नै एनालाइसिस गर्न पछि नपर्ने मात्र नभई ओभर एनालाइसिस गर्न खोज्छन् र त्यही नै नेपाली लगानीकर्ताहरुको ठूलो कमजोरी मान्न सकिन्छ । भनाई नै छ–एनालाइसिस नै प्यारालाइसिस हुन्छ ।
संसारमा सबै पोर्टफोलियो म्यानेजर तथा लगानी ब्यवस्थापकहरुले मान्दछन् कि लगानीपूर्व लगानीकर्ताहरुको मनोबल स्थिर र सकारात्मक हुनुपर्दछ । उनीहरु थप्छन्–‘प्राविधिक या गणितीय र तथ्यांकिय विधिहरु जुन प्रयोगमा छन्, जसले संसारभरका लगानीकर्ताहरुलाई निर्णय गर्नमा सहयोग गरेको महसुस गराउन सक्षम छन् र ती विधिहरुले नै लगानीकर्ताहरुको मनोबललाई सकारात्मक बनाउन सक्दछन्,जसको प्रयोग गर्न पछि नपरौं । आफ्नो लगानी भएको कम्पनीको आफै मूल्यांकन गर्ने बानी बसालौं, लगानी खेर जादैन र आउने पिढीको भविष्यका लागि आजै लामो अवधिको लागि सेयर लगानी निरन्तर गरौं ।
शेयर बजारको ब्यापकतामा अनुसन्धानबाट प्राप्त सार अनुसार शेयर बजार बढ्छ या घट्छ भनेर भन्न सक्ने कोड तोड्न कसैले पनि सकेका छै्रनन्, न त पत्रपत्रिका न त सोसल मिडिया र बजारमा यही नै हुन्छ भनेर कसैले भविष्यवाणी गर्न सक्षम हुँदैनन् । लगानीकर्ताहरु त्यस्ता कुराहरुमा लागेर आफ्नो सम्पत्तिको क्षय नगरौं, कम्पनीको वास्तविकता र प्रदर्शनलाई धेरैभन्दा धेरै ध्यान दिने गरौं ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19