काठमाण्डौ । मध्यभोटेकोशीको दोश्रो चरणको आइपीओमा आज(बुधबार) आवेदन दिने अन्तिम दिन हो ।

यो जलविद्युत आयोजनाले प्रोमोटर कम्पनीका कर्मचारी र कर्मचारी सञ्चयकोषका कर्मचारीका लागि २१ लाख कित्ता आइपीओ निश्कासन गरेको छ ।

आइपीओमा प्रोमोटर तथा ऋणदाता संस्थाका कर्मचारीले न्यूनतम ५०  कित्तादेखि अधिकतम ५०० सम्म र कर्मचारी सञ्चयकोषका कर्मचारीले न्यूनतम ५० देखि अधिकतम १२०० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

मध्यभोटेकोशीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमीटेडले गरिरहेको छ भने सहप्रबन्धकको रुपमा एनआइबिएल एस क्यापिटल, प्रभू क्यापिटल, लक्ष्मी क्यापिटल, सानिमा क्यापिटल, सिभिल क्यापिटल र सीबीआइएल क्यापिटल रहेका छन् ।

इच्छुक र योग्य आवेदकले सीआस्वा सेवा संचालनको अनुमति पाएका बैंक तथा बित्तीय संस्था र तिनका शाखाबाट आवेदन दिन सक्नेछन् । आवेदनको क्रममा आफू कार्यरत संस्थाको परिचय खुल्ने परिचयपत्रको  प्रतिलिपि समेत समावेश गर्नुपर्नेछ ।

केयर रेटिङ्सले यो कम्पनीको आइपीओलाई ग्रेड ४ को रेटिङ दिएको छ । यसको अर्थ कम्पनीको अवस्था औसत छ भन्ने हो ।

यो जलविद्युत कम्पनीले सिन्धुपाल्चोकको भोटेकोशी नदीमा १०२ मेगावाटको आयोजना निर्माण गरिरहेको छ, जुन आयोजना सन् २०१९ को जुनबाट संचालनमा  आउने बताइन्छ ।