काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामाको मुख्य मागसहित १४ बुँदे माग राखेर अनसनमा बसेका सेयर लगानीकर्ताहरुलाई सत्तारुढ दल नेकपाका नेताले समेत समर्थन जनाएका छन् । 

नेकपाका सचेतक देव गुरुङ बिहीबार अपरान्ह अनसन स्थलमा पुगी लगानीकर्ताको मागप्रति ऐक्यबद्धता जनाएका हुन् । 

अर्थमन्त्रीको राजीनामाको मुख्य मागसहित गत आइतबारदेखि अनसनरत लगानीकर्ताको मागप्रति सत्तारुढा दलकै प्रभावशाली नेताले ऐक्यबद्धता जनाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

नेता गुरुङले सेयर लगानीकर्ताले उठाएका माग अधिकांश जायज रहेका भन्दै यसप्रति सरोकारवाला गम्भीर बन्नुपर्ने सो क्रममा बताएका थिए । ‘१४ बुँदे माग सरसर्ती मैले पनि हेरेँ, मूल आशय ठीक छ ।’ उनले अनसनरत लगानीकर्तालाई सम्बोधन गर्दै भने–‘पूँजीबजारलाई कसरी सुधार गर्न सकिन्छ भन्ने बिषयमा सबै सकारात्मक भएर सहकार्य गरी अगाडि बढ्न आवश्यक छ ।’ 

उनले सेयर बजार ह्रासउन्मुख रहेकोले यसलाई कसरी बढाउन सकिन्छ भन्ने बिषयमा समेत सोचिन आवश्यक रहेको दाबी गरे । बजार के कारणले घटिरहेको छ भन्ने बिषयको खोजी गरी पहिचान भएका समस्या समाधानको दिशातर्फ अगाडि बढ्नुपर्नेमा उनको जोड थियो । 

लगानीकर्ताले अर्थमन्त्रीको राजीनामाको माग समेत उठाएका उल्लेख गर्दै नेता गुरुङले भने–‘अर्थमन्त्री पनि बजार सुधारका लागि सकारात्मक नै हुनुहुन्छ भन्ने लागेको छ । अर्थतन्त्र सुधारको पक्षमै हुनुहुन्छ भन्ने लागेको हुन्छ । मलाई उहाँको राजीनामासम्मै पुग्नुपर्छ जस्तो लाग्दैन ।’ 

अर्थमन्त्रीको राजीनामाको मुख्य माग बनाएर आन्दोलनरत अनसनकारीहरुलाई नेता गुरुङले बजारको नियामक र संचालकबाट पूरा हुने मागहरुको सन्दर्भमा प्रष्ट हुनुपर्ने सुझाव दिए । घुमाउरो भाषामा अनसन धितोपत्र बोर्ड र नेप्सेतर्फ पनि केन्द्रीत हुनुपर्नेमा जोड दिंदै गुरुङले भने–‘सेयर बजार नियमन गर्ने र यसलाई व्यवस्थित बनाउने जिम्मेवारी र क्षेत्राधिकार बोर्डको हो । बजारसँग जोडिएका अन्य निकायलाई पनि तपाईहरुले झकझक्याउन आवश्यक छ । बोर्ड र सम्बद्ध अन्य निकायले पनि बजारलाई व्यवस्थित गर्ने बिषयमा ध्यान दिन आवश्यक छ ।’ 

उनले सेयर लगानीकर्ताको माग पूरा गराउनका लागि आफूले सत्तारुढ दलको सांसदको हैसियतले सहजीकरण गरिदिने वचन समेत सो क्रममा दिएका थिए । ‘बजार घट्न नदिन र पूँजीबजारलाई व्यवस्थित बनाउन रचनात्मक रुपले म सहयोग गर्न तयार छु ।’ गुरुङले भने–‘तपाईहरु पनि सकारात्मक भई संवादमार्फत समस्या निराकरणका लागि सकारात्मक बनिदिनुपर्छ ।’