काठमाण्डौ । अनसनरत सेयर लगानीकर्ताहरुलाई अर्थ मन्त्रालयले वार्तामा बोलाउने निर्णय गरेको छ । 

मन्त्रालय स्रोतका अनुसार अनसनरत लगानीकर्ताहरुलाई शुक्रबार(आजै) बस्ने गरी वार्ताको लागि बोलाउनले निर्णय भएको हो । 

अर्थका सहसचिव उत्तरकुमार खत्रीसहितको बैठकले भर्खरै यस्तो  निर्णय गरेको उच्च स्रोतले जानकारी दिएको छ ।

‘दवाब समूहलाई अर्थले वार्तामा बस्न आग्रह गर्दै पत्र पठाउने कुरा छ ।’ स्रोतले भन्यो–‘दिउँसो २ बजेपछि जुनसुकै बेला वार्ता हुने संभावना छ।’

वार्तामा दवाब समूहका बढीमा ५ जना प्रतिनिधि आउनसक्ने स्रोतको भनाई छ । 

यो वार्तामा अर्थमन्त्रालयका सहसचिव, अर्थमन्त्रीबाट गठित उच्चस्तरीय अध्ययन समितिको संयोजक, सदस्यहरु लगायतको सहभागिता हुने बताइएको छ । 

दवाब समूहका संयोजक हरि ढकालले आफूहरुलाई वार्ताका लागि कुनै प्रस्ताव नआएको दाबी गरे । ‘अर्थबाट त्यस्तो प्रस्ताव आए साथीहरुसँग छलफल गरेर हामी आवश्यक निर्णयमा पुग्नेछौ ।’–उनले भने । 

दवाब समूहको नेतृत्वमा सेयर लगानीकर्ताहरु गत आइतबारदेखि नेपाल स्टक एक्सचेञ्जअगाडि अनसन बसिरहेका छन् । उनीहरुले अर्थमन्त्रीको राजीनामासहित पूँजीबजार सुधार तथा बिस्तारका १४ माग प्रस्तुत गर्दै आएका छन्।