काठमाण्डौ । जलविद्युत लगानी तथा विकास कम्पनी लिमीटेड(एचआइडिसिएल)ले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र सतप्रतिशत हकप्रद सेयर वितरणको प्रस्ताव गरेको छ । 

कम्पनीले बोनस सेयर र हकप्रदसँगै वार्षिक साधारणसभाको मिति र बुक क्लोजको मिति समेत तय गरेको हो । 

कम्पनीको पुस ८ गते बसेको  संचालक समितिको १७४ औं बैठकले सेयरधनीहरुलाई चुक्तापूँजीको १० प्रतिशतले हुन आउने रु. १ अर्ब बराबरको बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ । 

बोनस सेयरको कर प्रयोजनका लागि २ करोड १० लाख ५२ हजार ६ सय ३१ रुपैयाँ नगद लाभांश समेत वितरण गर्ने निर्णय गरेको छ । 

यस्तै, संचालक समितिको १७० औं बैठकले गरेको प्रस्ताव अनुसार १ बराबर १ को अनुपातमा हकप्रद सेयर वितरणको प्रस्ताव आगामी वार्षिक साधारणसभामा लैजाने निर्णय समेत भएको बताइएको छ ।

कम्पनीको संचालक समितिले सातौं वार्षिक साधारणसभा पुस ३० गते प्रज्ञा प्रतिष्ठान, काठमाण्डौमा आह्वान गरेको छ । 

साधारणसभा प्रयोजनका लागि पुस १७ गते कम्पनीको बुक क्लोज हुने समेत निर्णय गरिएको छ । यसको अर्थ कम्पनीले प्रस्ताव गरेको बोनस सेयर, हकप्रद सेयर पाउन तथा साधारणसभामा सहभागी हुन पुस १६ गतेभित्र यो कम्पनीको सेयर खरीद गरिसक्नुपर्नेछ ।