काठमाण्डौ । अनलाइन कारोबार प्रणालीको भद्रगोल अवस्था र दिनहुँको बग्रेल्ती समस्या समाधानमा नेप्सले चरम लापरबाही गरेपछि दोश्रो बजारप्रतिको विश्वास संकटमा पर्दै गएको छ । 

लगानीकर्ताहरु दोश्रो बजारप्रति विश्वस्त हुन नसकेका कारण बजारमा त्यसको नकारात्मक प्रभाव पर्दै गएको हो । 

दोश्रो बजारबाट लगानीकर्ताहरुको गोप्य डाटा चोरी हुने जस्ता संवेदनशील घटना समेत कयौ दिनसम्म भइरहँदा समेत नेप्सेले त्यसमा चासो नदिंदा अनलाइन कारोबार प्रणालीप्रति लगानीकर्ता विश्वस्त बन्न सकिरहेका छैनन् ।(डाटा चोरी लगायतका समस्या सम्बन्धी रिपोर्ट केहीबेरपछि प्रकाशन हुनेछ।) 

लगानीकर्तालाई कारोबारका लागि समन्वय गरिरहेका ब्रोकरहरुले समेत दैनिकजसो कैयन समस्या भोगिरहेका छन् । यसले समेत लगानीकर्ताको विश्वासमाथि तुषारापात भइरहेको छ । यिनै कारणले बजारप्रति लगानीकर्ताको उत्साह बढ्न सकेको छैन । पछिल्लो नेप्से बजारको समस्याप्रति झनै बढी उदासीन बन्दै गएको छ । नेप्सेको अनलाइन प्रणालीको हनिमुन पिरियड सकिनै लाग्दा पनि साना समस्या समेत निराकरण नभएपछि ब्रोकर र लगानीकर्ता दिक्क भइसकेका छन् ।  

यसैको परिणाम बजार पुनः घट्दो गतिमा कुद्न थालेको छ । साताको पहिलो कारोबार दिन घटेको बजार दोश्रो कारोबार दिन सोमबार समेत ८.८५ अंकले घटेर ११४४.२७  को विन्दूमा सीमित हुन पुगेको छ । 

यो दिन सेन्सेटिभ इण्डेक्स १.१८ अंकले घटेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.६१ अंकको गिरावट आएको छ । 

कारोबार रकम घटेर ३६ करोडमा सीमित भएको यो दिन बजारका होटल बाहेक सबै समूहको सूचकमा गिरावट आएको छ । होटल समूह भने ०.३५ अंकले बढेको छ । 

यो दिन बैंकिंग समूह ६.१९ अंकले घटेको छ । यस्तै, व्यापार समूह ४.८२ अंक, विकास बैंक समूह ९.७५ अंक, जीवन बिमा समूह ६४.९८ अंक, निर्जीवन बिमा समूह २०.२४ अंक, माइक्रोफाइनान्स समूह १३.९१ अंक, जलविद्युत समूह १९.५२ अंक, बित्त समूह ०.४२ अंक, उत्पादनमूलक १५.३७ अंक र अन्य समूह ८.०३ अंकले घटेका छन् । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६२ कम्पनीका १२ लाख ९ हजार ८ सय ६८ कित्ता सेयर ३६ करोड ४३ लाख ६४ हजार ८ सय ४९ रुपैयाँमा किनबेच भएको छ। 

नेपाल बैंकले सबैभन्दा बढी २ करोड ७१ लाख बढीको कारोबार गरेको छ । यस्तै, अपर तामाकोशीले २ करोड  ३५ लाख बढीको कारोबार गरेको छ भने यो दिन प्रभू बैंकको २ करोड १३ लाख बढीको संस्थापक सेयर समेत किनबेच भएको छ । 

नागरिक लगानीकोषले १ करोड ९६ लाख बढीको कारोबार गरेको यो दिन एनआइसी एशिया बैंकले १ करोड २२ लाख बढीको कारोबार गरेकोछ । 

नवील बैंकको १ करोड १८ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा इन्भेष्टमेन्ट बैंकले १ करोड, प्राइम कमर्सियल बैंकले ९२ लाख, नेपाल लाइफ इन्स्योरेन्सले ८४ लाख र प्रिमियर इन्स्योरेन्सले ८० लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन सेन्ट्रल फाइनान्सका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयरमूल्य ४ प्रतिशतको हाराहारीमा बढ्यो । 

यो दिन आँखु खोला जलविद्युत कम्पनी लिमीटेडका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ५ प्रतिशतको हाराहारीमा घट्यो ।