काठमाण्डौ । सोमबार पनि बजार घटेको छ । यो दिन नेप्से परिसूचक ७.२१ अंकले घटी ११०२.५१ को विन्दूमा सीमित भएको हो । 

नेप्से परिसूचक साढे ३८ महिनाअघिको भन्दा न्यून विन्दूमा झरेको हो । २०७२ मंसिर २० गते नेप्से परिसूचक ११०२.८४ विन्दूमा झरेको थियो । 

बजारप्रति लगानीकर्ताको विश्वास टुट्दै गएका कारण निरन्तर गिरावट भइरहेको छ । नेपाल स्टक एक्सचेञ्जले लगानीकर्ताको सहजताका लागि अनलाइन कारोबार प्रणाली लञ्च गरे पनि त्यसको अवस्था भद्रगोल छ । अनलाइन प्रणालीप्रति लगानीकर्ताको पटक्कै विश्वास देखिएको छैन । 

अर्कोतर्फ, बैंकहरुले निक्षेपको ब्याज घटाए पनि कर्जाको ब्याज घटाएका छैनन् । यसले कर्जा लिएर सेयरमा लगानी गर्नेहरु समेत उचित समयको पर्खाईमा छन् । 

यही बेला किन्न चाहनेहरु बजारलाई अझै घटाएर किन्ने दाउ हेरिरहेका छन्।

कतिपय लगानीकर्ता चाहि सोमबार अर्थमन्त्रीले सरोकारवालालाई छलफलमा बोलाएका र त्यहाँबाट ब्याजदरको बिषय केही सम्बोधन होला कि भन्ने पर्खाईमा छन् । 

केही लगानीकर्ता राष्टबैंकले यही साता सार्वजनिक गर्ने मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा प्रतिवेदनबाट बजारलाई राहात हुने कुनै कुरा आउँछ कि भनी कुरिरहेका छन् । 

एकातिर बजारलाई तत्काल बुम गर्ने कुनै पनि कारण र परिस्थिति निर्माण भएको छैन । बरु, दिनहुँको परिस्थितिले बजारमा आउन चाहने लगानीकर्ता समेत भागिरहेका छन् । यसले जेनतेन टिकेर लगानी गर्नेहरुको मनोबल समेत कमजोर बनाइदिएको छ । 

एकातिर लगानीकर्ता कमजोर छन् भने उनीहरुलाई कारोबार सहजताका लागि समन्वय गर्ने ब्रोकर समेत खुशी छैनन् । बैंकहरुलाई ब्रोकर लाइसेन्स दिने नीतिले बिच्किएका ब्रोकर अनलाइन कारोबार प्रणालीमा देखिने दिनहुँजसोको समस्याबाट समेत आजित छन् । उनीहरु घट्दो बजारमा आफ्नो भाग खोसिने गरी बैंकहरुलाई ब्रोकर लाइसेन्स दिने गरी नीति बनेपछि रुष्ट भई पहिलाजस्तो सक्रियता देखाइरहेका छैनन् । ब्रोकरहरुको सुस्तताले समेत लगानीकर्तामा बजारप्रति नकारात्मक सेन्टिमेन्ट जन्माइदिइरहेको विश्लेषक बताउँछन् । 

सोमबार होटल र उत्पादनमूलक बाहेकका समूहका सूचकमा रातो पोतिएको छ । 

होटल समूह ९.५ अंकले बढेको छ भने उत्पादनमूलकमा ०.२४ अंकको झिनो बढोत्तरी देखिएको छ । 

यो दिन बैंकिंग समूह ८.३ अंकले घटेको छ भने व्यापार समूह ४.७३ अंक, विकास बैंक समूह ११.२४ अंक,  जलविद्युत समूह १२.५३ अंक, बित्त समूह ०.३६ अंक, निर्जीवन बिमा समूह १२.८८ अंक, जीवन बिमा समूह १९.०८ अंक, माइक्रोफाइनान्स समूह ६.७४ अंक र अन्य समूह ९.६४ अंकले घटे ।

धेरै कारोबार गर्ने कम्पनी 
यो दिन बजारमा १ सय ६१ कम्पनीका ८ लाख ७६ हजार  २०८ कित्ता सेयर २३ करोड ४५ लाख ९४ हजार ३ सय ८१ रुपैयाँमा कारोबार भयो । 

सबैभन्दा बढी नवील बैंकले ४ करोड ७७ लाख बढीको कारोबार गर्यो । यो कम्पनीको २ करोड ४३ लाख बढी संस्थापक र २ करोड ३३ लाख बढी संस्थापक सेयरको किनबेच भएको हो । 

अपर तामाकोशीले १ करोड १४ लाख बढीको कारोबार गरेको यो दिन एनएमबी बैंकले १ करोड ५ लाख,  प्रभू बैंकले ८९ लाख,  माछापुच्छे बैंकले ६९ लाख, नेपाल बैंकले ५७ लाख, लक्ष्मी बैंकले ५६ लाख, सानिमा बैंकले ५६ लाख र सिभिल बैंकले ५१ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन बजारमा चौतारी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी कमाए । यो कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको हाराहारीमा बढोत्तरी भयो ।

वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमीटेडको सेयरमूल्य सबैभन्दा धेरै घट्यो । यो कम्पनीको मूल्य ९.०९ प्रतिशतले घटेको हो ।