काठमाण्डौ । दोश्रो बजारमा प्रतिकित्ता ६५० रुपैयाँ भन्दा बढीमा बिक्री भइरहेको नाडेप लघुवित्त वित्तीय संस्था लिमीटेडले आइतबार(आज)देखि बिक्री नभएको हकप्रद सेयर लिलामीमा राखेको छ । 

यो कम्पनीले सर्वसाधारण समूहतर्फको ६१ हजार २३६ कित्ता बिक्री नभएको सेयर लिलामीमा राखेको हो । 

आजदेखि खुलेको लिलामीमा सहभागी बन्न इच्छुक लगानीकर्ताले फागुन २८ गतेभित्रमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

कम्पनीले इच्छुक लगानीकर्तालाई न्यूनतम १०० कित्ताका लागि र न्यूनतम प्रतिकित्ता १०० रुपैयाँको दरले मूल्य लगाई लिलामीबाट सेयर खरीदका लागि बोलपत्र पेश गर्न सकिने जनाएको छ । 

लिलामीको प्रक्रिया व्यवस्थापनका लागि नवील इन्भेष्टमेन्ट बैंकिंग लिमीटेड बिक्री प्रबन्धक रहेको छ ।

इच्छुकले नवील बैंक लिमीटेडका वीरगञ्ज, सुर्खेत, नेपालगञ्जमा तोकिएका शाखा, नवील इन्भेष्टमेन्ट बैंकिंगको नक्सालस्थित मुख्य कार्यालय र नाडेप लघुवित्तका विराटनगर, पोखरा र बुटवलस्थित कार्यालयबाट लिलामीका लागि बोलपत्र भर्न सक्नेछन् ।

यो माइक्रोफाइनान्स कम्पनीले केही समयअघि १६ लाख कित्ता हकप्रद सेयर निश्कासन गरेको थियो । सो क्रममा बिक्री नभएको सेयर लिलामीमा राखिएको हो । 

यो कम्पनीले आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य नाफाबाट आफ्ना लगानीकर्तालाई ३० प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको छ । १०० प्रतिशत हकप्रद र ३० प्रतिशत बोनस सेयरको समेत पूँजीकरण भइसकेपछि कम्पनीको चुक्तापूँजी बढेर ३६ करोड ८० लाखको उचाई चुम्नेछ ।