काठमाण्डौ । लामो समयसम्म बजारमा चलेको बियरिस प्रवृति अन्त हुँदै गएको बलिया संकेतहरु थपिन थालेका छन् । बजारमा निकै लामो समय चलेको बियरिस ट्रेण्डका कारण लगानीकर्ताको टाट पल्टिसकेको छ । विज्ञ तथा विश्लेषकहरुले नेपाली बजारमा चल्ने बियरिस ट्रेण्ड अब अन्तको संघारमा रहेको विश्लेषण गरिरहेको बेला बजार दैनिक रुपमा बढ्न थालेको हो । 

बजारको गतिविधिलाई सुक्ष्म रुपमा फण्डामेन्टल र प्राविधिकको कोणबाट विश्लेषण गर्ने विज्ञहरुले बारम्बार अब बजारमा बियरिस ट्रेण्डको अन्त हुन लागेको प्रक्षेपण गरिरहेका छन् । एकातर्फ विज्ञहरुबाट निरन्तर यस्तो प्रक्षेपण आइरहेको छ भने बजार न्यून विन्दूमा सीमित हुँदा ब्लुचिप सेयर समेत निकै न्यून मूल्यमा पाइने अवसरलाई छोप्न समेत लगानीकर्ता सक्रिय भएका अनुमान गर्न सकिन्छ । अहिले बजारमा धेरै प्यानिक भएर लगानीकर्ताहरुले सेयर बेच्नु भन्दा सकेसम्म होल्ड गर्ने नै नीति लिएका समेत पछिल्ला केही कारोबार दिनहरुले संकेत गरेका छन् । यसले बजारमा सेयरको खरिदारी बढाएको र यहीकारण बजार निरन्तर बढ्न थालेको देखाएको छ । 

लगानीकर्ता आशावादी भएसँगै उनीहरुको मनोबल समेत उठ्न थालेपछि बुधबार नेप्से परिसूचक ९.१२ अंकले बढी ११११.७६ को विन्दूमा फर्किएको छ । विश्लेषहरुले १२७५ को विन्दूलाई बजारले पार गरे निकै लामो समयको बुलिस ट्रेण्ड सुरु हुने यसअघि नै प्रक्षेपण गरिसकेका छन् । 

यो दिन बजारका कुनै पनि समूहको सूचक घटेनन् । यस हिसाबले बजार हराभरा देखियो । 

राम्रा कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इण्डेक्स  २.०३ अंकले उचालियो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.७२ अंकको बढोत्तरी देखियो । 

यो दिन जीवन बिमा कम्पनी सबैभन्दा बढी बढ्यो । यो समूहको सूचक ९६.१४ अंकले बढेको हो । यो भनेको १.७ प्रतिशतको वृद्धि हो । 

यस्तै, होटल समूह २५.४४ अंकले बढेको यो दिन निर्जीवन बिमा समूहमा ६७.५६ अंक, माइक्रोफाइनान्स समूहमा १९.५ अंक, बैंकिंगमा ७.२३ अंक, विकास बैंक समूहमा १०.८२ अंक, जलविद्युत समूहमा ५.९ अंक, बित्त समुहमा ४.३६ अंक, उत्पादनमूलकमा ३.९६ अंक र अन्य समूहमा ०.५३ अंकको बढोत्तरी भयो ।

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १६९ कम्पनीका ८ लाख २६ हजार १३ कित्ता सेयर २२ करोड ४६ लाख ६६ हजार १२८ रुपैयाँमा किनबेच भएको छ । 

सबैभन्दा बढी एनसीसी बैंकल १ करोड ४६ लाख बढीको कारोबार गरेको छ । यस्तै, नेपाल बैंकले १ करोड ३६ लाख, नेपाल लाइफ इन्स्योरेन्सले १ करोड १७ लाख, एनएमबी बैंकले १ करोड १५ लाख, एनआइसी एशियाले ८८ लाख, नवील बैंकले ६९ लाख बढीको कारोबार गरे । 

जनता बैंकको ६७ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा अपर तामाकोशीले ५६ लाख बढीको कारोबार गर्यो । 

नवील बैंकको ५१ लाख बढीको संस्थापक सेयर समेत खरीदबिक्री भएको यो दिन नेशनल लाइफ इन्स्योरेन्सले ४७ लाख बढीको सेयर कारोबार गर्यो।

धेरै कमाउने र गुमाउने कम्पनी

यो दिन हाथ्वे फाइनान्सका लगानीकर्ताले कुस्त कमाए । कम्पनीको सेयर मूल्य ८.३३ प्रतिशतले वृद्धि भयो ।

कञ्चन डेभलपमेन्ट बैंकको सेयर मूल्यमा समेत ८.२८ प्रतिशतको वृद्धि देखियो ।

यो दिन घलेम्दी हाइड्रो लिमीटेडको सेयर मूल्य सबैभन्दा धेरै घट्यो । कम्पनीको मूल्यमा ६.५५ प्रतिशतको गिरावट आएको हो ।