काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले हाल प्रचलनमा रहेको सर्किट ब्रेकरको व्यवस्थामा परिवर्तन गर्ने भएको छ । 

नेप्सेले धितोपत्र बोर्डको समेत स्वीकृतिमा आगामी मंगलबार(चैत १९ गते)देखि सर्किट ब्रेकरको नयाँ व्यवस्था लागू हुने घोषणा गरेको हो । 

नयाँ व्यवस्था अनुसार कारोबार सुरु भएको पहिलो घण्टामा नेप्से परिसूचक ४ प्रतिशतले घटे वा बढेमा १५ मिनेट, दोश्रो घण्टामा ५ प्रतिशतले घटे वा बढेमा ३० मिनेट र तेश्रो घण्टा वा त्यसपछिको समयमा ६ प्रतिशतले घटे वा बढेमा बाँकी पूरै दिनको कारोबार स्थगित हुनेछ । 

समग्र सेयर बजारमा हुने अस्वभाविक उतारचढावलाई नियन्त्रण गर्न नेपाल स्टक एक्सचेञ्जले २०६४ असोज ६गतेदखि पूरै बजारमा सर्किट ब्रेकर लगाउन सुरु गरेको हो ।

सुरुमा नेप्सेले अंकका आधारमा कारोबार स्थगन गर्दै आएकोमा २०६५ भदौ ९ गतेदेखि भने प्रतिशतका आधारमा सर्किट ब्रेकर लगाउँदै आएको छ । जसअनुसार कारोबार सुरु भएको पहिलो एक घण्टामा नेप्से परिसूचक ३ प्रतिशतले परिवर्तन भएमा १५ मिनेटका लागि पहिलो सर्किट ब्रेकर लगाई कारोबार स्थगन गर्ने गरिन्थ्यो ।

पुनः कारोबार खुलेपछि परिसूचक ४ प्रतिशतले परिवर्तन भएमा दोश्रो पटक सर्किट ब्रेकर लाग्छ र कारोबार स्थगित गर्ने गरिँदे आएको छ । दोश्रो सर्किट ब्रेकर लगाएपछि ३० मिनेटका लागि कारोबार स्थगित हुने हालको व्यवस्था छ । त्यसपछि खुलेको बजार परिसूचक ५ प्रतिशतले परिवर्तन भएमा सो दिनको बाँकी कारोबार नै स्थगन हुने व्यवस्था हाल कार्यान्वयनमा छ ।