-भक्तराज रसाइली 
काठमाण्डौ । नेप्सेले कार्यान्वयन गर्ने भनिएको मार्जिन कारोबार सुबिधा सम्बन्धी कार्याविधी, २०७५ कार्यान्वयनमा नआउँदै संसोधन हुने भएको छ ।

मार्जिन कारोबार सम्बन्धमा तयार कार्याविधिमा मार्जिन सेयर ब्रोकरको पूल अकाउन्टमा रहने व्यवस्था थियो । 

नेप्सेका सीइओ चन्द्रसिंह साउदले संसोधन हुने कुरा स्वीकार गर्दै लगानीकर्ताकै डीम्याट खातामा रहने, तर मार्जिन कारोबारका नाममा लक हुने व्यवस्थामा ब्रोकर, सिडिएससी र धितोपत्र बोर्डसँग सहमति भएको जानकारी दिए ।

केही समयअघि मार्जिन कारोबारमा हुने सेयर कारोबारको ग्यारेन्टी र कसको कुन प्रकृतिको खातामा मार्जिन सेयर रहने भन्ने विषयमा सबै सरोकारवालाका बीच सहमति जुट्न सकेको थिएन । 

कार्यविधिमा ब्रोकरको पूल अकाउन्टमा मार्जिन कारोबारका सेयर रहने उल्लेख भएकोमा अब लगानीकर्ताकै डिम्याट खातामै लक हुने र सोही  सेयर ग्यारेन्टी हुने भएपछि सहमति जुटेको सीइओ साउदले  बताए  । 

‘यो प्राविधिक कठिनाईको रुपमा थियो,हामीले हल गर्यौ । अब ब्रोकरहरुको ब्याकअफिस सिस्टम तयार भए लगत्तै मार्जिन कारोबार सुबिधाको अनुमती दिन्छौं ।’ उनले भने ।

उता, सिडिएससीका सीइओ देवप्रकाश गुप्ताले मार्जिन कारोबारको अभिलेखका लागि सिस्टम तयार गर्ने काम द्रुतगतिमा भइरहेको बताउँदै अर्को हप्तामा मात्रै सिस्टम तयारीका विषयमा जानकारी दिनसक्ने बताए । यसअघि गुप्ताले मार्जिन कारोबारमा सिडिएससीको कुनै भूमिका र योगदान नहुने जिकिर व्यक्त गरेका थिए । 

ब्रोकरहरुको ब्याकअफिस सिस्टमको जिम्मेवारी लिएको सफ्टवेयर भेण्डर कम्पनी बोस सोर्स कोड प्रालिका सीइओ अभिजित श्रेष्ठले सिस्टम परीक्षणका लागि यही साता ब्रोकरहरुलाई प्रदान गरिने उल्लेख गर्दै जेठभित्रै सिस्टम हस्तान्तरण गरिने जानकारी दिए ।