काठमाण्डौ । शनिवार धितोपत्र बोर्डको २७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्ने क्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल राष्ट्रबैंकको छायाँमा परेको भन्दै बोर्डलाई स्वायत्त बन्न सुझाव दिए । उनले आफ्नो आशयलाई अझ प्रष्ट्याउँदै भने राष्ट्रबैंकले तयार गर्ने मौद्रिक नीतिका कारण सेयर बजारको अंक तलमाथि हुनु राम्रो कुरा होइन । मौद्रिक नीतिबाट बजार प्रभावित हुने यो क्रमलाई बोर्डले रोक्न सक्नुपर्छ । 

अर्थमन्त्रीले बजारमा मौद्रिक नीतिको छायाँ पर्नुहुँदैन भनी अभिव्यक्ति दिएको ४८ घण्टा नबित्दै सेयर बजार भने आउन लागेको मौद्रिक नीतिको प्रतिक्षामा सुस्त बनेको देखिएको छ । 

बजेटमार्फत घोषणा भएका बजार सुधारका अजेण्डा मौद्रिक नीतिबाट कुन रुपमा आउँछन् भन्ने बिषयमा लगानीकर्ताहरुमो चासो देखिएको छ । मौद्रिक नीतिबाट पूँजीगत लाभकर, बिग मर्जर लगायतका विषयमा प्रष्ट नीति आउने भन्दै बजारका अधिकांश लगानीकर्ता पर्ख र हेरको रणनीतिमा बस्दा यो साताको कारोबार खुलेको पहिलो दिन सोमबार बजार घट्यो । 

यो दिन नेप्से परिसूचक ८.७८ विन्दूले घटी १२७५.८२ को विन्दूमा सीमित बन्न पुग्यो । कारोबार रकम पनि अघिल्लो कारोबार दिनको तुलनामा घट्न पुग्यो । 

अर्थमन्त्रीले भाषणको क्रममा देशको आर्थिक परिसूचकहरु उत्साहजन रहेका, बैंक तथा अन्य कम्पनीले राम्रो नाफा कमाइरहेको बेला बजार घट्नुपर्ने कारण नरहेको उल्लेख गर्दै बजार सुनियोजित रुपमा गिराउने खेल भइरहेको र यसलाई बोर्डले निस्तेज पार्नुपर्ने सुझाव समेत दिएका थिए । अर्थमन्त्रीले बजार घट्नुपर्ने अवस्था नरहेको बताइरहँदा पछिल्लो समय बजार भने निरन्तर घटिरहेको छ । 

सोमबार राम्रा र बलिया कम्पनीका बिक्री चाप देखिँदा सेन्सेटिभ इण्डेक्स १.४३ अंकले घटेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.५७ अंकको गिरावट देखिएको छ । 

विकास बैंकसहितका तीन समूहको उपसूचक बढे पनि बाँकीमा रातो पोतिएको छ । यो दिन विकास बैंक समूह ४.४७ अंकले बढ्यो भने उत्पादन तथा प्रशोधन समूह १५.५५ अंक र म्युचुअल फण्ड समूह ०.०७ अंकले बढे । बाँकी समूह घटे । 

बैंकिङ समूह ५.६१ अंकले घटेको यो दिन होटल समूहमा ३४.०६ अंक, जलविद्युत समूहमा १६.२९ अंक, बित्त समूहमा ७.४९ अंक, निर्जीवन बिमा समूहमा १२४.३८ अंक, जीवन बिमा समूहमा ६२.४३ अंक, माइक्रोफाइनान्स समूहमा ११.४९ अंक र अन्य समूहमा ६.६१ अंकको गिरावट आयो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १७३ कम्पनीका २० लाख ७२ हजार ३०४ कित्ता सेयर ६१ करोड ३ लाख ४७ हजार ३३४ रुपैयाँमा किनबेच भयो । 

सबैभन्दा बढी एनआइसी एशिया बैंकले ४ करोड १८ लाख बढीको कारोबार गर्यो । 

शिवम् सिमेन्टले ३ करोड ९० लाख, सिद्धार्थ बैंकले ३ करोड ३ लाख, नेपाल बैंकले २ करोड ५५ लाख बढीको कारोबार गरेको यो दिन नवील बैंकको १ करोड ९५ लाख बढीको संस्थापक सेयर समेत किनबेच भयो । 

नेपाल टेलिकमले १ करोड ६४ लाख बढीको कारोबार गरेको यो दिन सिटी एक्सप्रेस फाइनान्सको १ करोड ५९ लाख बढीको संस्थापक सेयर समेत किनबेच भयो । 

ग्लोबल आइएमई बैंकले १ करोड ५१ लाख बढीको कारोबार गरेको यो दिन मेगा बैंकले १ करोड ३९ लाख र सूर्या लाइफ इन्स्योरेन्सले १ करोड ३८ लाख बढीको कारोबार गर्यो । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमीटेडका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ७.६१ प्रतिशतले घट्यो ।

तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ७.३३ प्रतिशतले घट्यो ।